काठमाडौं– श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकता दिँदै युवाको सीप विकास तथा दिगो र बलियो रोजगारीको वातावरण निर्माणमा जोड दिएको बताएका छन् ।
इटहरीमा बुधबारदेखि सुरु भएको सीप तथा रोजगार मेला २०८३ को उद्घाटन गर्दै मन्त्री यादवले युवालाई सीप, रोजगारी र तालिमका अवसरसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।
उनले तालिम लिएर प्रमाणपत्र प्राप्त गर्नु मात्रै उपलब्धि नभएको भन्दै सिकाइ, क्षमता विकास र स्वरोजगारलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गरे ।
तालिमबाट प्राप्त सीपले रोजगारीको बाटो खोल्यो कि खोलेन भन्ने विषयलाई सरकारले प्राथमिकताका साथ हेर्नुपर्ने उनको भनाइ थियो। रोजगारी प्राप्त गरेपछि जीवनयापन गर्न पुग्ने पारिश्रमिक र भविष्यमा उन्नतिको अवसर प्राप्त भयो कि भएन भन्ने विषय पनि महत्त्वपूर्ण रहेको उनले बताए ।
‘युवालाई सिक्ने र क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ’
मन्त्री यादवले शिक्षा, रोजगारी वा तालिममध्ये कुनैमा पनि संलग्न नभएका युवाको संख्या घटाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
“शिक्षा, रोजगारी वा तालिममा संलग्न नभएका युवाको सङ्ख्या घटाउन सरकारले विशेष ध्यान दिनुपर्ने आजको आवश्यकता हो,” उनले भने, “हरेक युवालाई सिक्ने, अघि बढ्ने र आफ्नो क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ।”
उनले देशका लागि श्रम र पसिना बगाउने प्रत्येक नागरिकले आफ्नै भूमिमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताए ।
युवाको सीप, श्रम र सपनालाई रोजगारी तथा आर्थिक अवसरसँग जोड्न रोजगार मेला महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ थियो ।
मन्त्री यादवले आन्तरिक रोजगारी विस्तारसँगै युवाको सीपलाई बजारको आवश्यकतासँग जोड्ने गरी तालिम र रोजगारका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


विश्व खबर 



















