काठमाडौं– भारी वर्षाको सम्भावना देखिएपछि कोशी प्रदेश सरकारले सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारी तीव्र बनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ वटै जिल्लास्थित मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा अन्य पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण र तत्काल मर्मतका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा राखिएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले जानकारी दिए ।
वर्षाका कारण प्राकृतिक विपत्ति उत्पन्न हुनसक्ने भन्दै तत्काल उद्धार तथा राहतका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिइएको उनले बताए।
जोखिमयुक्त सडक र पुलको निगरानी बढाउन निर्देशन
मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारको नियमित निगरानी बढाउन निर्देशन दिनुभएको छ। साथै उपलब्ध जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र विपद् आइपरे तत्काल परिचालन भई मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै मन्त्री आचार्यले कोशी प्रदेशवासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।
प्रदेश सरकारले विशेषगरी भारी वर्षाका कारण सडक अवरुद्ध हुने, पहिरो जाने तथा पुललगायतका पूर्वाधारमा क्षति पुग्नसक्ने अवस्थालाई ध्यानमा राख्दै उद्धार तथा मर्मतसम्भारका लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको जनाएको छ ।


विश्व खबर 

















