काठमाडौं – बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा ‘यसिँ थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान सम्पन्न भएसँगै काठमाडौंको प्रसिद्ध इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु भएको छ ।
हनुमानढोका दरबार क्षेत्रस्थित कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिँ ठड्याइएको हो । यसिँ ठड्याएसँगै यसको माथि इन्द्रअङ्कित चिह्नसहितको ध्वजा ‘हलिंपता’ फहराइएको छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार यसिँमा आठवटा काठका टुक्रा राख्ने परम्परा छ ।
न्हय्स नाय र चस्वाद्वँ टोलका मानन्धर समुदायको अनिवार्य उपस्थितिमा राखिने ती काठका टुक्रालाई अष्टमातृकाको प्रतीक मानिन्छ । यसलाई ‘लाकासिँ’ भनिन्छ ।
यसिँ ठड्याउने क्रममा गुर्जुको पल्टनले तोप पड्काएको थियो। यस अवसरमा तलेजु भवानीको प्रतीकका रूपमा सेतो घोडा ल्याउने परम्परासमेत छ । इन्द्रजात्रामा प्रस्तुत गरिने पहिलो नाचका रूपमा दिप्याखं अर्थात् देवी नाचसमेत प्रस्तुत गरिएको थियो ।
यसिँमा इन्द्रको सुवर्ण मूर्ति
यसिँको माथिल्लो भागमा गजुरजस्तै देखिने भोगटे राखिएको हुन्छ भने फेदमा इन्द्रको सुवर्ण मूर्ति राखिन्छ । हलिंपता फहराएपछि मानन्धर समुदायले सबैभन्दा पहिले यसिँको पूजा गर्ने परम्परा रहेको अध्यक्ष शाक्यले बताए ।
यसिँ तथा इन्द्रको सुवर्ण मूर्तिको श्रद्धालुले पूजा तथा आराधना गर्ने गर्छन् ।
इन्द्रध्वजोत्थान कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधि, स्थानीयवासी र श्रद्धालुको बाक्लो उपस्थिति थियो ।
रणबहादुर शाहको पालादेखि हालको स्थानमा
इन्द्रजात्रामा यसिँ ठड्याउने परम्परा कसले सुरु गर्यो भन्ने यकिन इतिहास नभए पनि रणबहादुर शाहको पालादेखि हालको स्थानमा यसिँ ठड्याउन थालिएको विश्वास गरिन्छ ।
त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिरअगाडि यसिँ ठड्याउने गरिएको भनाइ छ । यसिँलाई उल्लास, विजय र उत्सवको प्रतीकका रूपमा लिने गरिन्छ ।
असोज ९ गतेदेखि रथयात्रा
इन्द्रजात्राको मुख्य रथयात्रा असोज ९ गते शुक्रबारदेखि सुरु हुनेछ। पहिलो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई रथारोहण गराई पूजा सम्पन्न गरेपछि तल्लो टोलतर्फ रथयात्रा गराइनेछ ।
पहिलो दिनको रथयात्रापछि ‘दाँगी’को नगर परिक्रमा गराउने परम्परा छ। दाँगीलाई इन्द्रदेवकी आमाका रूपमा मानिन्छ। वर्षभरि दिवङ्गत भएका व्यक्तिको चिरशान्तिको कामना गर्दै दाँगीको नगर परिक्रमा गराउने परम्परा पनि इन्द्रजात्रासँग जोडिएको छ ।
असोज १० गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ। त्यस्तै, असोज १३ गते मंगलबार नानीचायाको दिन माथिल्लो टोलको किलाघः हुँदै नगर परिक्रमा गराउने परम्परा छ ।
महिलाको नेतृत्वमा रथ तान्ने परम्परा
इन्द्रजात्राको अन्तिम दिन हुने नानीचाया रथयात्रामा स्थानीय महिलाको सहभागिताले निरन्तरता पाउँदै आएको छ । पछिल्लो १४ वर्षदेखि स्थानीय महिलाको नेतृत्वमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानिँदै आएको छ ।
नानीचायाको दिन राष्ट्रपतिको उपस्थितिमा कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परासमेत रहेको छ ।


विश्व खबर 




















