काठमाडौं – सरकारले खाना पकाउने एलपी ग्यासमा घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक–फरक तौल र मूल्यका सिलिन्डर लागू गर्ने तयारी थालेको छ ।
हाल घरायसी उपभोक्तादेखि होटल, रेष्टुरेन्ट तथा ठूला उद्योगसम्मले १४ दशमलव २ किलो क्षमताको सिलिन्डर एउटै मूल्यमा प्रयोग गर्दै आएका छन् ।
अब भने प्रयोजनअनुसार सिलिन्डरको तौल र मूल्य फरक बनाउने विषयमा सरकारले अध्ययन अघि बढाएको हो ।
यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ ।
समितिमा गुणस्तर तथा नापतौल विभाग, भन्सार विभाग, नेपाल आयल निगम तथा ग्यास उद्योगीका प्रतिनिधि सदस्य छन् ।
समितिले अध्ययन सुरु गरिसकेको र १५ दिनभित्र प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारी गरेको छ ।
घरायसी अनुदान व्यावसायिक क्षेत्रमा जाने अवस्था अन्त्य गर्ने लक्ष्य
नेपाल आयल निगमका अनुसार नेपालमा खपत हुने कुल एलपी ग्यासमध्ये करिब ७० प्रतिशत घरायसी र ३० प्रतिशत व्यावसायिक प्रयोजनमा प्रयोग हुन्छ ।
हाल दुवै प्रयोजनका लागि एउटै तौल र मूल्य कायम रहेकाले सरकारले घरायसी उपभोक्ताका लागि उपलब्ध गराउँदै आएको सहुलियतको लाभ व्यावसायिक प्रतिष्ठानले समेत पाउने अवस्था छ ।
हाल १४ दशमलव २ किलोको ग्यास सिलिन्डरको मूल्य करिब २ हजार ६० रुपैयाँ रहेको छ ।
सरकारले घरायसी ग्यासमा उपलब्ध गराउने अनुदान तथा सहुलियतबाट वार्षिक करिब ७ देखि ८ अर्ब रुपैयाँ बराबरको भार पर्ने गरेको बताइएको छ ।
घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै सिलिन्डर तथा मूल्य कायम भएमा घरायसी उपभोक्ताका लागि दिइने सहुलियतलाई लक्षित वर्गमै सीमित गर्न सकिने र व्यावसायिक प्रतिष्ठानलाई बजार मूल्यमा ग्यास उपलब्ध गराउन सकिने सरकारको अपेक्षा छ ।
४५० किलोको ‘जम्बो सिलिन्डर’ प्रस्ताव
गुणस्तर तथा नापतौल विभागले यसअघि नै ५ किलो, १४ दशमलव २ किलो, १९ किलो र ४५० किलो क्षमताका ग्यास सिलिन्डर प्रयोगका लागि मापदण्ड तयार गरिसकेको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले व्यावसायिक प्रयोजनका लागि ४५० किलो क्षमताको ठूलो सिलिन्डर प्रभावकारी हुने बताएका छन् ।
उनका अनुसार पाँचतारे होटल तथा ठूला उद्योगमा ठूलो संख्यामा साना सिलिन्डर भण्डारण गर्नुभन्दा एउटा ठूलो क्षमताको सिलिन्डर प्रयोग गर्दा व्यवस्थापन तथा सुरक्षाका दृष्टिले सहज हुन्छ ।
यस्ता व्यावसायिक सिलिन्डरमा सरकारी अनुदान आवश्यक नपर्ने उनको भनाइ छ ।
भारतमा पनि प्रयोगमा
छिमेकी भारतमा समेत व्यावसायिक प्रयोजनका लागि ४५० किलो क्षमताका ‘जम्बो सिलिन्डर’ प्रयोगमा छन् ।
इन्डियन आयल कर्पोरेसनले व्यावसायिक प्रयोजनमा ‘जम्बो सिलिन्डर’ प्रयोग गर्दै आएको छ ।
त्यस्तै, अन्य ग्यास कम्पनीले पनि उच्च ग्यास प्रवाह आवश्यक पर्ने धातु, फलाम तथा स्टिल उद्योगलगायत क्षेत्रमा ४५० किलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याएका छन् ।
२०६५ को विनियमावलीमै फरक तौलको व्यवस्था
एलपी ग्यास विनियमावली, २०६५ ले विभिन्न तौल र आकारका सिलिन्डर बिक्री गर्न सकिने व्यवस्था गरेको भए पनि फरक प्रयोजनअनुसार सिलिन्डर प्रयोगको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
२०८० असोज २२ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा समेत घरायसी र व्यावसायिक प्रयोजनका लागि दुई थरि सिलिन्डर प्रयोगमा ल्याउने विषयमा छलफल भएको थियो ।
अहिले गठन भएको समितिले प्राविधिक, व्यावहारिक र आर्थिक पक्षको अध्ययन गरी प्रतिवेदन बुझाएपछि घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै सिलिन्डर तथा मूल्य लागू गर्ने विषयमा मन्त्रालय वा मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइनेछ ।


विश्व खबर 



















