काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का समयमा खोज, उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनाको प्राथमिक शेयरमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच सुरक्षाकर्मीले निर्वाह गर्दै आएको भूमिकाको उच्च कदर गर्दै उनीहरूलाई जलविद्युत आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विपद्को समयमा सुरक्षाकर्मीले देखाएको समर्पण र राष्ट्रप्रतिको दायित्वलाई सम्मान गर्दै जलविद्युत आयोजनाको प्राथमिक शेयरमा उनीहरूका लागि २ प्रतिशत हिस्सा छुट्याउने व्यवस्था गर्न कानुनी प्रक्रिया अघि बढाइएको हो ।
भोटेकोशी विपत्तिमा कर्मचारीको समन्वयकारी भूमिका
मन्त्री श्रेष्ठले भोटेकोशी क्षेत्रमा आएको विपत्तिका क्रममा मन्त्रालयअन्तर्गतका निकाय, नेपाल विद्युत् प्राधिकरण, सिँचाइ विभाग तथा जल तथा मौसम विज्ञान विभागका कर्मचारीले गरेको समन्वयकारी भूमिकाको समेत प्रशंसा गर्नुभयो ।
विपद्का कारण भएको क्षतिले भविष्यका लागि गम्भीर पाठ सिकाएको उल्लेख गर्दै उहाँले क्षतिको लेखाजोखा गर्नुका साथै आगामी दिनमा यस्ता जोखिम न्यूनीकरण गर्न सक्ने प्रविधि र संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
विपद् प्रतिरोधी जलविद्युत आयोजना बनाउन निर्देशन
मन्त्री श्रेष्ठले भविष्यमा निर्माण हुने जलविद्युत आयोजनालाई विपद् प्रतिरोधी बनाउन सुरक्षा मापदण्डलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न मातहतका निकायलाई कडा निर्देशन दिइएको जानकारी दिनुभयो ।
उहाँले जलविद्युत आयोजना निर्माण गर्दा सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई सुरुदेखि नै मूल्याङ्कन गरी आवश्यक सुरक्षा संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
भारी वर्षाको सम्भावनाप्रति सतर्क रहन आग्रह
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा पुनः भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
मन्त्री श्रेष्ठले सम्भावित वर्षा तथा विपद्को जोखिमलाई ध्यानमा राख्दै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो । विशेषगरी मध्य तथा पश्चिम नेपालका साथै हालै बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
मौसमी सूचना नियमित रूपमा अनुगमन गर्दै सम्भावित जोखिमका क्षेत्रमा पूर्वतयारी र आवश्यक सुरक्षा व्यवस्था मिलाउनसमेत उहाँले आग्रह गर्नुभएको छ ।


विश्व खबर 



















