images
images
  • मनास्लु हिमपहिरोमा मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

    काठमाडौं – मनास्लु हिमालको तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइएको छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनास्लुको फेदीमा रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत उनीहरूको शव काठमाडौं ल्याइएको हो ।

    हिमपहिरोमा परी मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र सङ्खुवासभाको मकालु–२ का नेपाली सहयोगी फुर्सेम्बा शेर्पा छन् ।

    उनीहरू गत आइतबार राति मनास्लुको तेस्रो शिविरमा गएको हिमपहिरोमा पुरिएका थिए ।

    घटनाको तीन दिनपछि मंगलबार उनीहरूको शव सामागाउँ ल्याइएको थियो । सामागाउँबाट बुधबार बिहान शव काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

    गुहा र शेर्पा मकालु एडभेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणका लागि गएका थिए ।

    मनास्लुमा मृत्यु हुनेको संख्या चार

    यससँगै यस सिजन मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका ५० वर्षीय आरोही लाउवी सेङको दोस्रो शिविरमा मृत्यु भएको थियो ।

    त्यस्तै, नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको आधार शिविरमै मृत्यु भएको थियो ।

    ‘किलर माउन्टेन’का रूपमा चिनिने मनास्लु आरोहणका लागि यस सिजन ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन् । तर प्रतिकूल मौसमका कारण अहिलेसम्म कुनै पनि आरोहीले सफल आरोहण गर्न सकेका छैनन् ।

    भारी हिमपात र लगातारको वर्षाका कारण मनास्लु क्षेत्रमा आरोहण गतिविधि प्रभावित भएको छ । मौसम प्रतिकूल बनेपछि आरोहीहरू धमाधम काठमाडौं फर्किन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images