images
images
  • ओली बाँचुञ्जेल एमाले नेतृत्वमा : विष्णु–शंकर मचिए–मचिए थचिए

    काठमाडौं– नेकपा (एमाले)भित्र पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा चलेको बहस तत्कालका लागि कमजोर देखिएको छ ।

    उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी एकता कायम गर्दै अघि बढ्नुपर्ने धारणा राखेपछि पुनर्गठन पक्षधर नेताहरू दबाबमा परेका छन् ।

    मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा पौडेल र पोखरेलले नेतृत्व परिवर्तनभन्दा पार्टीलाई एकताबद्ध बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

    उनीहरूले अध्यक्ष ओलीलाई सहयोग गर्दै पार्टीलाई थप व्यवस्थित बनाएर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।

    बैठकमा ओलीले आफ्नो नेतृत्वप्रतिको पकड कायम राख्दै आलोचना र नेतृत्व परिवर्तनको मागलाई सामना गर्ने रणनीति अपनाएको नेताहरूले बताएका छन् ।

    यही परिस्थितिपछि पुनर्गठनको पक्षमा रहेका केही नेताहरू पछि हटेको उनीहरूको दाबी छ ।

    सोमबारको बैठकमा ओलीले पोखरेललाई बैठक सञ्चालन गर्न रोक लगाएको बताइएको थियो ।

    तर, राति ओलीसँग भएको संवादपछि मंगलबार पोखरेलले नै बैठक सञ्चालन गरे ।

    यसलाई केही नेताहरूले पोखरेलको अडान परिवर्तनका रूपमा व्याख्या गरेका छन् ।

    उपाध्यक्ष पौडेलले भने अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै पार्टीभित्र एकता कायम राख्नुपर्ने धारणा राखेका थिए ।

    उनको यस्तो भूमिकालाई पुनर्गठन पक्षधर नेताहरूले ओलीसँगको सहमतिको संकेतका रूपमा लिएका छन् ।

    मंगलबारको बैठकमा ११८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

    तर, नेतृत्व पुनर्गठनको पक्षमा खुलेर समर्थन गर्ने सदस्यको संख्या सीमित रहेको बताइएको छ ।

    यसैबीच, उपमहासचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्व गठन गर्नुपर्ने लिखित प्रस्ताव अध्यक्ष ओलीसमक्ष बुझाएका छन् ।

    प्रस्तावमा पार्टीको आगामी नेतृत्व र संगठन सञ्चालनका विषयमा वैकल्पिक व्यवस्था गर्नुपर्ने धारणा अघि सारिएको छ ।

    नेतृत्व पुनर्गठनको माग गर्ने नेताहरूले पौडेल र पोखरेलको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

    उनीहरूले यसलाई ओली नेतृत्वलाई निरन्तरता दिने दिशामा भएको कदमका रूपमा व्याख्या गरेका छन् ।

    यद्यपि, पौडेल र पोखरेलले पार्टी एकता र संगठनको स्थायित्वलाई प्राथमिकता दिएको बताउँदै आएका छन् ।

    एमाले केन्द्रीय कमिटीको बैठक बुधबार पुनः बस्ने भएको छ ।

    बैठकमा नेतृत्व, पार्टी पुनर्गठन तथा आगामी राजनीतिक रणनीतिबारे थप छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images