काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाएको छ ।
हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनका विषयमा मंगलबार बसेको बैठकले अध्ययन तथा पूर्वतयारीका कामलाई तीव्रता दिने निर्णय गरेको हो ।
रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनामा क्षति पुगेर उत्पादन बन्द भएपछि आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनमा दबाब पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्राधिकरणले तयारी थालेको हो ।
कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा आयोजना व्यवस्थापन निर्देशनालय तथा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुखहरूको सहभागिता थियो ।
पाँच सदस्यीय समिति गठन
हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा कार्य अघि बढाउन प्राधिकरणले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा काम अघि बढाउने क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ ।
बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परेको भए पनि आगामी हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताए ।
उनले विद्युत् आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी अहिलेबाटै अघि बढाइएको जानकारी दिए ।
काठमाडौं उपत्यकाका आयोजना समयमै सक्न निर्देशन
प्राधिकरणले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरणतर्फका आयोजनाको काम निर्धारित समयभित्र सम्पन्न गर्न समयसीमासमेत तोकेको छ ।
हिउँदमा उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत् माग बढ्ने भएकाले प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउन निर्माणाधीन आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको हो ।
बाढी प्रभावित क्षेत्रमा आपूर्ति सुधारको तयारी
बाढीबाट प्रभावित नुवाकोट र रसुवामा विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउन विभिन्न विकल्पबारे समेत बैठकमा छलफल भएको छ ।
बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसनलाई पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
त्रिशूली नदी बेसिनका जलविद्युत् केन्द्रमा बाढीले पुर्याएको क्षतिका कारण उत्पादनमा आएको कमीका बीच प्राधिकरणले वैकल्पिक व्यवस्थापन, प्रसारण तथा वितरण संरचनाको सुदृढीकरण र निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने योजनालाई अघि बढाएको हो ।


विश्व खबर 



















