काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका छन् ।
मंगलबार साँझ काठमाडौंबाट कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका उनलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा अधिकारीहरूले स्वागत गरे ।
बुधबार उनी न्युयोर्क पुगे ।
न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतले उनलाई स्वागत गर्ने कार्यतालिका छ ।
आजै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्ने कार्यक्रम छ ।
त्यहाँ परराष्ट्र सचिव, स्थायी प्रतिनिधि, कार्यवाहक राजदूत र महावाणिज्यदूतले भ्रमणका विषयमा ब्रिफिङ गर्नेछन् ।
त्यसपछि उनी स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुनेछन् ।
असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ ।
त्यसलगत्तै उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।
असोज ९ गते न्युयोर्कबाट दोहा प्रस्थान गर्ने उनलाई दोहामा स्वागत तथा बिदाई गरिनेछ ।
अमेरिका भ्रमण सकेर असोज १० गते काठमाडौं फर्कने तालिका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


विश्व खबर 




















