images
images
  • पोखरा विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान

    काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ । विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको हो ।

    २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि केही अन्तर्राष्ट्रिय उडान भए पनि नियमित सेवा सञ्चालन हुन सकेको थिएन ।

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तथा सेवा व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको छ ।

    फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा विमानस्थलमा अवतरण गर्नेछ। यात्रु लिएर उक्त विमान साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने कार्यक्रम छ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

    अध्यागमन र भन्सार सेवा तयारी अवस्थामा

    महाप्रबन्धक निरौलाका अनुसार अन्तर्राष्ट्रिय यात्रुका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गोलगायत सबै सेवा सञ्चालनका लागि विमानस्थल तयारी अवस्थामा छ ।

    “विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन्,” निरौलाले भने, “विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन ।”

    पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले पनि अन्तर्राष्ट्रिय उडानका लागि भन्सारतर्फ गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको बताए ।

    उनका अनुसार राजस्व संकलन, वैध व्यापार सहजीकरण, यात्रुको जाँचपास तथा निकासी–पैठारीसम्बन्धी कामका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ ।

    नियमित उडानले पर्यटनमा आशा

    दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हबमध्ये एक भएकाले पोखरा–दुबई नियमित उडानले पोखराको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार फ्लाई दुबईले दुबईबाट १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई हवाई सम्पर्कले पोखरालाई थप अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्न सक्नेछ ।

    उनले फ्लाई दुबईको उडान नियमित र दीर्घकालीन रूपमा सञ्चालन हुने आशा व्यक्त गरे ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेकाले यसलाई विमानस्थलको अन्तर्राष्ट्रिय सञ्चालन विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images