images
images
  • सिद्धबाबा सुरुङमार्गमा मंसिर १५ भित्रै सवारी चलाउने तयारी

    काठमाडौं – निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिर १५ गतेभित्रै सवारीसाधन सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ ।

    सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्‍याउँदै सवारी सञ्चालनको तयारी थालेको हो ।

    आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङभित्र सडक निर्माण तथा अधिकांश सिभिल संरचनाको काम सम्पन्न भइसकेकाले मंसिरभित्रै सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

    बर्खा तथा भोटेकोसी बाढीका कारण निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा पूर्वनिर्धारित समय केही पर धकेलिएको उनले बताए । “अब एक–दुई दिनमै निर्माण सामग्री आएपछि टनेलभित्रको बाँकी काम अगाडि बढाउँछौँ,” बास्तोलाले भने ।

    इलेक्ट्रोमेकानिकल काम बाँकी

    हाल सुरुङभित्र सडक पिच गर्ने काम सम्पन्न भइसकेको छ भने रङरोगनको काम भइरहेको छ ।

    टेक्निकल भवनको फिनिसिङ पनि जारी छ । सुरुङको लाइनिङ अर्थात् भुइँ तथा भित्ता ढलानसहितका सिभिल संरचनाको काम यसअघि नै पूरा भइसकेको आयोजनाले जनाएको छ ।

    अब मुख्य रूपमा इलेक्ट्रोमेकानिकलसम्बन्धी काम सम्पन्न गर्न बाँकी रहेको बास्तोलाले बताए ।

    भोटेकोसी बाढीका कारण सुरुङमार्गका लागि ल्याइएका केही विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालनको पूर्वनिर्धारित समय प्रभावित भएको थियो ।

    भौतिक प्रगति ६९ प्रतिशतभन्दा बढी

    योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ६३ दशमलव ५५ प्रतिशत रहेको छ ।

    हालसम्म मुख्य सुरुङ तथा बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र सुरुङभित्रको प्रिमेन्टसम्बन्धी काम सम्पन्न भइसकेको आनन्दले बताए । सुरुङमार्गमा तीनवटा बाइपाससमेत निर्माण गरिएको छ ।

    बाहिरी सडकलाई पहिरोबाट जोगाइने

    सुरुङभित्रको काम सम्पन्न भएपछि आयोजनाले बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम अघि बढाउने जनाएको छ ।

    सुरुङको बाहिरी भागलाई पहिरो तथा ढुंगा खस्ने जोखिमबाट जोगाउन रकसेड, रकफल ब्यारेियर तथा स्लोप प्रोटेक्सनका संरचना निर्माण गरिने इन्जिनियर आनन्दले बताए ।

    १ हजार १२६ मिटर लामो सुरुङ

    सिद्धबाबा सुरुङमार्गको लम्बाइ १ हजार १२६ मिटर रहेको छ । आयोजनाका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो भने २०७९ सालदेखि निर्माण सुरु गरिएको हो ।

    सुरुङमार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

    आयोजना सम्पन्न भएपछि बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा हुने पहिरो तथा ढुंगा खस्ने जोखिमका कारण हुने यातायात अवरोध कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images