काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा बोल्दाबोल्दै भक्कानिइन् ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा उनले संसदमा उभिनु आफ्नो राजनीतिक रहर नभई न्याय खोज्ने यात्रा भएको बताइन् ।
‘यो गरिमामय संसदमा उभिनु मेरो राजनीतिक रहर वा लालच थिएन, न्याय खोज्ने यात्रा थियो,’ उनले भनिन्, ‘मेरो कोखमा हुर्किएको, आँखासामु बढेको मुटुको टुक्रा, तातो गोली र रगतले न्याय खोज्दै थियो ।’
आफूलाई खोज्दै रास्वपा दैलोसम्म पुगेको बताउँदै उनले प्रधानमन्त्रीको आग्रहमा सदनमा आएको र जेनजीहरूको बलिदान खेर जान नदिन सदनमा खबरदारी गरिरहने बताइन् ।
शहीदहरूले पूर्ण न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड नहिचकिचाउने उनले बताइन् ।
तर, छोराको लासमाथि सांसद पद साटेकी भन्दै अपमानजनक टिप्पणी सुनेर स्तब्ध भएको उनले सुनाइन् ।
यसका साथै विपक्षी दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जेनजी आन्दालेनको बलमा बनेको सरकारले शहीदलाई न्याय नदिनेले सत्ताको कुर्सीमा बस्नु उचित नभएको बताए ।


विश्व खबर 



















