काठमाडौं – सर्लाहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन र चैनपुरमा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याएसँगै विद्युत् आपूर्ति सुधार हुने भएको हो ।
लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७ चैनपुरासम्म करिब २० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ । चैनपुर सबस्टेसनमा ३० एमभीएका दुईवटा १३२/३३ केभी र २४ एमभीएको एउटा ३३र११ केभी पावर ट्रान्सफर्मर जडान गरिएको छ ।
सबस्टेसनको कुल क्षमता ८४ एमभीए रहेको छ । स्थानीय विद्युत् वितरणका लागि ३३ केभीका पाँच र ११ केभीका छवटा फिडर सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
आयोजना सञ्चालनमा आएपछि मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया र बरहथवालगायत क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने अपेक्षा गरिएको छ ।
यसबाट न्यून भोल्टेज, बारम्बार हुने ट्रिपिङ तथा विद्युत् चुहावटको समस्या घट्नुका साथै बढ्दो विद्युत् माग व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिइएको बताए ।
आयोजना निर्माणका लागि २०७९ चैतमा १ अर्ब १२ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०८० वैशाखदेखि कार्यान्वयनमा आएको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिएको हो ।


विश्व खबर 


















