काठमाडौं– वीरेन्द्रनगर नगरपालिकाले स्थानीय युवालाई लक्षित गरी फोटोग्राफी तथा भिडियोग्राफी, डिजिटल मार्केटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को युवा उद्यमशीलता तथा आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत सूचना प्रविधिसम्बन्धी सीप विकास गरी युवालाई रोजगार तथा स्वरोजगारतर्फ प्रोत्साहित गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो ।
तालिममा फोटोग्राफी तथा भिडियोग्राफी, डिजिटल मार्केटिङ र एआईसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ । तालिम २० दिनसम्म सञ्चालन हुने र तालिम स्थल वीरेन्द्रनगर नगरपालिका रहनेछ ।
तालिममा सहभागी हुन वीरेन्द्रनगर नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ । आवेदकले न्यूनतम एसएलसी वा एसईई उत्तीर्ण गरेको वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।
डिजिटल प्रविधि, फोटोग्राफी तथा भिडियोग्राफी र डिजिटल व्यवसायमा रुचि भएका युवालाई तालिममा सहभागी हुन नगरपालिकाले आह्वान गरेको छ ।
आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि तथा वीरेन्द्रनगरमा स्थायी बसोबास पुष्टि हुने कागजात आवश्यक पर्नेछ ।
बसोबास पुष्टि गर्न नागरिकता, बसाइँसराइ प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस पेस गर्न सकिनेछ ।
इच्छुकले नगरपालिकाले उपलब्ध गराएको गुगल फाराम वा सूचनामा रहेको क्यूआर कोडमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले २०८३ असोज १ गते तालिमसम्बन्धी सूचना प्रकाशित गरेको हो । थप जानकारीका लागि कार्यालय समयभित्र वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ ।


विश्व खबर 


















