काठमाडौं – भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
बाढीका कारण विभिन्न क्षेत्रमा आयातित सवारीसाधन, गोदाम, कार्यालय, उपकरणलगायत व्यावसायिक सम्पत्तिमा क्षति पुगेपछि नाडाले सरकारी तथा सरोकारवाला निकायसँग समन्वय अघि बढाएको हो ।
नाडाका अनुसार भन्सार नाकालगायतका स्थानमा रहेका कतिपय सवारीसाधन बाढीबाट क्षतिग्रस्त भएका छन् भने केही हराएका छन् । व्यवसायीका गोदाम, कार्यालय तथा अन्य पूर्वाधारमा समेत क्षति पुगेको विवरण प्राप्त भइरहेको छ ।
नाडाले प्रभावित सदस्य कम्पनीलाई क्षतिग्रस्त वा हराएका सवारीसाधनको विवरण, सवारीसाधन रहेको स्थान तथा भन्सार नाका, संख्या र प्रकार, गोदाम तथा कार्यालयमा भएको क्षति, बीमा र ऋणसम्बन्धी विवरण नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ ।
प्राप्त विवरणका आधारमा बीमा दाबी प्रक्रिया सहज बनाउन बीमा कम्पनीसँग तथा हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि भन्सार कार्यालयसँग समन्वय गर्ने नाडाले जनाएको छ ।
त्यस्तै, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन लगायतका विषयमा सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने नाडाको योजना छ ।
अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी राहत, सहजीकरण तथा आवश्यक नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाले जनाएको छ ।
यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गर्ने तयारीसमेत गरिएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बाढी तथा डुबानबाट प्रभावित सदस्य व्यवसायीलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन् ।


विश्व खबर 


















