काठमाडौं- नेकपा नेता वर्षमान पुन ‘अनन्त’ले मुलुकको नेतृत्व पुनः कम्युनिष्ट शक्तिको हातमा ल्याउन आफूहरू सक्रिय रहेको बताएका छन् ।
शनिबार काभ्रेको खानीखोला गाउँपालिका सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पुनले विचार मिल्ने वाम शक्तिबीच एकता र लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले नेकपा विभाजनबाट उत्पन्न निराशाले पछिल्लो जेनजी आन्दोलनलाई प्रभावित गरेको दाबी गर्दै आन्दोलनमा घुसपैठ र भूराजनीतिक चलखेल भएको जिकिर गरे ।
नेपालले अमेरिका, चीन र भारतबीचको बढ्दो प्रतिस्पर्धाबीच कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने उनको भनाइ थियो ।
पुनले कम्युनिष्ट पार्टीलाई पुनर्गठन र सुदृढ गर्दै अन्य वाम घटकसँग एकता अघि बढाउने बताए ।
साथै, संविधान र लोकतन्त्रको रक्षा गर्न कांग्रेससहित संविधान पक्षधर शक्तिसँग सहकार्य गर्नुपर्ने धारणा राखे ।
युवासँग स्थापित राजनीतिक दलहरूको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै उनले युवालाई केवल मतदाताका रूपमा हेर्ने प्रवृत्ति बदल्नुपर्ने बताए ।
सूचना प्रविधिको प्रयोगमार्फत युवालाई राजनीतिक रूपमा जोड्न र संगठन विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।


विश्व खबर 



















