काठमाडौं– सरकारले १३ देशका लागि राजदूत सिफारिस गर्दा चार जना महिलालाई समेटेको छ ।
स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा.पद्माक्षी राणा र श्रीलंकाका लागि डा.मञ्चला झा सिफारिस भएका छन् ।
प्राप्ति शेरचन अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएकी विज्ञ हुन् ।
उनी सन् २०१५ देखि विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)मा कार्यरत छन् ।
उनले लैंगिक समावेशिता र महिला वित्तीय पहुँचका क्षेत्रमा काम गरेकी छन् ।
शारू जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यकी नीति विज्ञ हुन् ।
२५ वर्षभन्दा बढी अनुभव भएकी उनले वैदेशिक रोजगार ऐन, नियमावली तथा नीतिको निर्माणमा योगदान गरेकी छन् ।
उनले युएन वुमेनसहित विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेकी छन् ।
डा.पद्माक्षी राणा दिगो विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय विकास तथा उद्यमी नेता हुन् ।
सन् २०२२ देखि इम्प्याक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक तथा सह(संस्थापक रहेकी उनले विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग साझेदारीमा काम गरेकी छन् ।
उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् ।
डा.मञ्चला झा सुशासन तथा सार्वजनिक नीति विज्ञ हुन् ।
उनले सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा २०१५ देखि २०१९ सम्म काम गरेकी थिइन् ।
त्रिभुवन विश्वविद्यालयमा सह–प्राध्यापक रहेकी उनले संक्रमणकालीन न्याय, महिला, शान्ति तथा सुरक्षा र सुशासनका क्षेत्रमा काम गरेकी छन् ।
चारै जनाको सम्बन्धित क्षेत्रमा लामो अनुभव र अन्तर्राष्ट्रिय कार्यसम्पर्क रहेको देखिन्छ ।


विश्व खबर 



















