images
images
  • साउदीको आग्रहपछि चीनद्वारा इरानलाई हुथी विद्रोहीको नियन्त्रण रोक्न दबाब

    दुबई– चीनले यमनका हुथी विद्रोहीलाई नियन्त्रणमा राख्न आफ्नो प्रभाव प्रयोग गर्न इरानलाई निजी रूपमा आग्रह गरेको छ ।

    पछिल्लो एक सातामा हुथी समूहले गरेको तीव्र सैन्य विस्तारपछि साउदी अरबले चीनसँग सहयोग मागेपछि बेइजिङले तेहरानसँग यस्तो आग्रह गरेको तीन जना इरानी स्रोतले बताएका छन् ।

    इरानसँग निकट सम्बन्ध रहेको हुथी समूहले लाल सागरको तटीय क्षेत्रमा र बाब अल–मन्देब जलडमरूमध्य आसपास तीव्र रूपमा आफ्नो प्रभाव विस्तार गरेपछि साउदी अरबले चीनसँग सहयोग मागेको स्रोतहरूको भनाइ छ ।

    यसले साउदी अरबको तेल निर्यात र समुद्री ढुवानी थप जोखिममा परेको उनीहरूले बताएका छन् ।

    चीनले सार्वजनिक रूपमा संयम अपनाउन, संवाद गर्न र समुद्री मार्गमा सुरक्षित आवागमन पुनःस्थापित गर्न आह्वान गर्दै आएको छ ।

    तर, स्रोतहरूका अनुसार बेइजिङले निजी रूपमा भने इरानलाई हुथीमाथिको आफ्नो प्रभाव प्रयोग गरी द्वन्द्वलाई ऊर्जा आपूर्तिका महत्वपूर्ण समुद्री मार्गमा थप फैलिन नदिन आग्रह गरेको हो ।

    तीन इरानी स्रोतका अनुसार चीनले आफ्नो सन्देश कसरी इरानसम्म पुर्‍यायो भन्ने स्पष्ट छैन ।

    यो सन्देश इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बुधबार चीन भ्रमण गरेका क्रममा दिइएको हो वा होइन भन्ने पनि उनीहरूले खुलाएका छैनन् ।

    इरानी स्रोतका अनुसार तेहरानले चीनलाई क्षेत्रीय स्थायित्व र शान्तिका लागि पहिले इरानविरुद्ध जारी अमेरिकी–इजरायली युद्ध अन्त्य हुनुपर्ने जवाफ दिएको छ ।

    चीनले इरानले हुथीमाथि प्रभाव प्रयोग नगरे आर्थिक दबाब दिने वा अन्य कुनै स्पष्ट धम्की भने नदिएको स्रोतहरूले बताएका छन् ।

    रोयटर्सको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयले क्षेत्रीय तनाव थप यमन र लाल सागरमा फैलिएको चीनले हेर्न नचाहेको जनाएको  छ।

    चिनियाँ विदेश मन्त्रालयले भनेको छ, “क्षेत्रीय अस्थिरता बढ्नु कुनै पनि पक्षको हितमा छैन ।”

    उसले सबै देशको सार्वभौमिकता र सुरक्षाको सम्मान हुनुपर्ने तथा जनजीवनका लागि अत्यावश्यक संरचनालाई निशाना बनाउन नहुने बताउँदै संवाद र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

    इरानको विदेश मन्त्रालय र साउदी सरकारको सञ्चार कार्यालयले भने रोयटर्सको प्रश्नमा तत्काल प्रतिक्रिया दिएका छैनन् ।

    क्षेत्रीय युद्ध विस्तारको जोखिम

    चीन एक दशकभन्दा लामो समयदेखि इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ। चीन इरानी तेलको मुख्य खरिदकर्ता पनि हो ।

    वस्तु बजारसम्बन्धी तथ्यांक तथा विश्लेषण संस्था केप्लरका अनुसार सन् २०२५ मा इरानको समुद्री मार्गबाट हुने तेल निर्यातमध्ये ८० प्रतिशतभन्दा बढी चीनले खरिद गरेको थियो ।

    यसको औसत मात्रा दैनिक करिब १४ लाख ब्यारेल थियो ।

    मध्यपूर्वका एक वरिष्ठ पश्चिमी कूटनीतिज्ञका अनुसार हुथीलाई नियन्त्रणमा राख्न इरानमाथि प्रभाव पार्न सक्ने सीमित राजधानीमध्ये बेइजिङ एक हो ।

    सन् १९९० को दशकमा यमनमा साउदी अरबको सुन्नी धार्मिक प्रभावको विरोधबाट हुथी समूहको उदय भएको थियो ।

    इरानी स्रोत तथा पश्चिमी देशहरूका अनुसार हुथीलाई इरानले हतियार, तालिम र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

    यो समूह तेहरानको पश्चिम र इजरायलविरोधी ‘प्रतिरोधको धुरी’ को हिस्सा मानिन्छ ।

    लाल सागर तथा बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुने समुद्री ढुवानीमाथि हुथीले खतरा बढाए विश्वव्यापी ऊर्जा संकट थप गम्भीर बन्न सक्ने जोखिम छ ।

    इरानले स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी कडा बनाइरहेको अवस्थामा लाल सागरमा हुथीले जहाज वा बन्दरगाहमाथि निरन्तर आक्रमण गरे मध्यपूर्वबाट तेल निर्यात हुने दुई प्रमुख समुद्री मार्ग एकैपटक प्रभावित हुन सक्छन् ।

    यसले ऊर्जा संकटलाई थप गहिरो बनाउनुका साथै अमेरिका र इरानबीचको व्यापक द्वन्द्वमा नयाँ मोर्चा थपिन सक्ने जोखिम देखिएको छ ।

    एक इरानी स्रोतका अनुसार इरान र उसका सहयोगीहरूले अहिले क्षेत्रको महत्वपूर्ण समुद्री सञ्जालका दुवै छेउमा दबाब सिर्जना गरेका छन् ।

    “चीन दुवै मार्गमा निर्भर छ,” उनले भने ।

    वासिङ्टनस्थित मिडल इस्ट इन्स्टिच्युटका इरान कार्यक्रम निर्देशक एलेक्स वातान्काका अनुसार बेइजिङले इरानमाथि अमेरिकी दबाबको विरोध गर्न सक्ने भए पनि मध्यपूर्वमा चीनका स्वार्थ इरानभन्दा धेरै व्यापक छन् ।

    चीनले आयात गर्ने तेलमध्ये करिब आधा मध्यपूर्वबाट आउने गरेको छ ।

    त्यस्तै चीन र खाडी सहयोग परिषद् सदस्य राष्ट्रबीचको वार्षिक व्यापार करिब ३०० अर्ब अमेरिकी डलर रहेको वातान्काले बताए ।

    उनका अनुसार इरानले हर्मुज जलडमरूमध्य अवरुद्ध गर्न सक्ने क्षमता राखे पनि त्यसबाट सिर्जित दबाबले अन्ततः इरानलाई आर्थिक तथा रणनीतिक रूपमा निर्भर हुँदै गएको चीनलाई नै असर गर्न थालेमा त्यो तेहरानका लागि चुनौती बन्न सक्छ ।

    चीनको चुनौती

    तीन इरानी स्रोतका अनुसार बेइजिङले उठाएको चिन्तामाथि तेहरानले वास्तवमै कदम चाल्छ कि चाल्दैन भन्ने अझै स्पष्ट छैन ।

    यद्यपि, इरानका लागि चीनसँगको सम्बन्ध आर्थिक र रणनीतिक रूपमा महत्वपूर्ण रहेको उनीहरूले बताएका छन् ।

    अमेरिका र उसका सहयोगी राष्ट्रसँगको तनावबीच इरानले चीनलाई महत्वपूर्ण साझेदारका रूपमा हेर्दै आएको छ ।

    युद्ध र प्रतिबन्धका कारण दबाबमा रहेको इरानी अर्थतन्त्रलाई राहत दिन तथा तेल उद्योगमा आवश्यक लगानी गर्न सक्ने वित्तीय क्षमता भएका सीमित देशमध्ये चीन एक हो ।

    कूटनीतिक रूपमा पनि चीनले आफ्नो प्रभाव प्रदर्शन गरिसकेको छ ।

    सन् २०२३ मा चीनले लामो समयदेखि तनावपूर्ण रहेको इरान र साउदी अरबबीच सम्बन्ध पुनःस्थापित गर्ने सहमति गराउन मध्यस्थता गरेको थियो ।

    तर चीनको प्रभावको पनि सीमा रहेको देखिन्छ ।

    सन् २०२१ मा दुई देशबीच २५ वर्षे सहकार्य सम्झौता भए पनि गैरतेल व्यापार तथा लगानी अपेक्षाकृत कम रहेको भन्दै इरानभित्रै आलोचना हुँदै आएको छ ।

    यसबीच खाडीका अरब राष्ट्रमा चीनले बढाउँदै लगेको लगानी प्रतिबद्धताको तुलनामा इरानमा चिनियाँ लगानी कम रहेको आलोचकहरूको भनाइ छ ।

    इरानका लागि चीनलाई बेवास्ता गर्न नसकिने भए पनि दुई इरानी स्रोतका अनुसार तेहरानको निर्णयमा बेइजिङको स्वार्थ मात्रै निर्णायक हुने छैन ।

    इरानका रणनीतिक, आर्थिक र राजनीतिक प्राथमिकताबीचको प्रतिस्पर्धाले पनि निर्णय प्रभावित गर्ने उनीहरूले बताएका छन् ।

    मध्यपूर्वका पश्चिमी कूटनीतिज्ञका अनुसार तेहरान र बेइजिङ दुवैलाई एकअर्काको आवश्यकता छ ।

    चीन हर्मुज जलडमरूमध्य खुला होस् र लाल सागरमा समुद्री ढुवानी सुरक्षित रहोस् भन्ने चाहन्छ भने इरानका लागि चीन महत्वपूर्ण साझेदार हो ।

    विश्लेषकहरूका अनुसार अब मुख्य प्रश्न चीनले आफ्ना माग पूरा गराउन इरानमाथि वास्तविक दबाब सिर्जना गर्न कस्तो कदम चाल्छ भन्ने हो ।

    बेइजिङ आफ्नो मागप्रति कति गम्भीर छ भन्ने सबैभन्दा स्पष्ट संकेत उसले इरानमाथि आफ्नो प्रभाव प्रयोग गर्न तयार रहेको प्रमाणबाट देखिने उनीहरूको भनाइ छ । –रोयटर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images