काठमाडौं– सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथी तथा तीन महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
२०८३ भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथीद्वय सोबेन्द्र महत र प्रकाश थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको सैनिक स्रोतले जनाएको छ ।
उपरथी नेपाली सेनाको दुईतारे जर्नेल दर्जा हो । बढुवा भएका महत सैनिक इन्टेलिजेन्स निर्देशनालय तथा थापा निरीक्षण निर्देशनालयमा कार्यरत रहेको स्रोतको भनाइ छ ।
त्यस्तै महासेनानीद्वय मदनजंग राणा र सुरज लामिछाने तथा प्राविधिकतर्फका महासेनानी भरतलाल श्रेष्ठलाई सहायक रथीमा बढुवा गरिएको छ ।
यससँगै नेपाली सेनामा दुई उपरथी र तीन सहायक रथी थपिएका छन् ।
उच्च सैनिक अधिकृतको बढुवा सैनिक मुख्यालयबाट सिफारिस भई रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रस्ताव पेस हुने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयन हुने व्यवस्था छ ।
प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणमा रहेकाले बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम उनको स्वदेश फिर्तापछि हुने बताइएको छ । सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रधानसेनापति फर्किएपछि जंगी अड्डामा औपचारिक समारोह आयोजना गरी बढुवा भएका अधिकृतलाई नयाँ दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिने सैनिक स्रोतले जनाएको छ । त्यसपछि उनीहरूको नयाँ जिम्मेवारी र दरबन्दीसमेत तोकिनेछ ।
उपरथीमा बढुवा भएका महत र थापाको नयाँ जिम्मेवारी तथा सहायक रथीमा बढुवा भएका राणा, लामिछाने र श्रेष्ठको जिम्मेवारीबारे भने औपचारिक निर्णय सार्वजनिक भएको छैन ।
बढुवा निर्णयबारे रक्षा मन्त्रालय र नेपाली सेनाले हालसम्म औपचारिक विज्ञप्ति सार्वजनिक गरेका छैनन् ।


विश्व खबर 



















