काठमाडौं– एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत बैठकमा नेपाली झण्डा नराखिएको घटनालाई कूटनीतिक खेलवाड भनेका छन् ।
यसको सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भारतीय समकक्षी निर्मला सितारमणसँग वान टु वान तथा सामूहिक वार्ता गरेका थिए ।
वान टु वान वार्तामा भारतीय पक्षको झण्डा भए पनि नेपाली पक्षको झण्डा थिएन ।
दुवैतर्फ भारतीय झण्डा राखिएको तस्बिर अर्थमन्त्रीको सचिवालयले नै सार्वजनिक गरेको छ ।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले द्वीपक्षीय वार्तामा समान हैसियतसाथ बस्नुपर्ने बताए ।
उनले भने, ‘यो औपचारिक वार्ता थियो । एउटा देशको मात्रै झण्डा हुनु न्यूनतम कूटनीतिक प्रोटोकलविपरीत हो ।’
ज्ञवालीका अनुसार यस्तो बैठकमा आयोजक देश र भ्रमणमा आएको देशले समन्वय गर्नुपर्छ ।
आयोजकसँग झण्डा नभएमा नेपाली दूतावासले उपलब्ध गराउनुपर्थ्यो ।
उनले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा गम्भीर चुक भएको बताउँदै अब यस्तो गल्ती दोहोरिन नहुने बताए ।


विश्व खबर 



















