images
images
  • चलचित्र ‘चंगुल’को ट्रेलर सार्वजनिक

    काठमाडौं – री एन्ड की फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र ‘चंगुल’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

    सार्वजनिक ट्रेलरमा देशमा परिवर्तनका लागि भएको आन्दोलन तथा त्यस क्रममा युवाले गरेको संघर्ष, मेहनत र त्यागलाई प्रस्तुत गरिएको छ । देशलाई मुक्त बनाउन युवाले गरेको प्रयासलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको निर्माण पक्षले जनाएको छ ।

    चलचित्र असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको निर्देशन राम गौतमले गरेका छन् भने मालती कार्की निर्माताका रूपमा रहेकी छन् ।

    चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमिल्सिना, राम गौतम, राकेश कुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, मालती कार्कीलगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकार रिम्सा कार्कीको समेत अभिनय रहेको छ ।

    चलचित्रको कथा, पटकथा तथा संवाद रवि कार्कीले तयार पारेका हुन् । चलचित्रमा विपिन आचार्य, विक्रम कार्की र नन्दनी अधिकारीको संगीत रहेको छ ।

    त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन, दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेका छन् ।

    चलचित्र प्रदर्शनपछि प्राप्त मुनाफाबाट घाइते जेनजीहरूलाई सहयोग गर्ने निर्माण पक्षले जनाएको छ । यसका लागि घाइते जेनजी नेपाल संस्थासँग सहकार्यसम्बन्धी सम्झौता भइसकेको चलचित्रकी निर्माता तथा कलाकार मालती कार्कीले जानकारी दिएकी छन् ।

    चलचित्रले आन्दोलन, युवाको संघर्ष र परिवर्तनको चाहनालाई पर्दामार्फत प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images