images
images
  • इरान र स्विडेनबीच तनाव, दुवै देशबीच युद्ध होला ?

    काठमाडौं– स्टकहोमस्थित इरानी दूतावासका एक कर्मचारीलाई स्विडेनले निष्कासन गरेपछि इरानले तेहरानस्थित एक स्विडेनी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ ।

    इरानको विदेश मन्त्रालयले बिहीबार सरकारी टेलिभिजनमार्फत जारी गरेको विज्ञप्तिमा स्विडेनको निर्णय ‘अनुचित र अन्तरराष्ट्रिय कानुनविपरीत’ भएको भन्दै विरोध जनाउन तेहरानस्थित स्विडेनी राजदूतलाई मन्त्रालयमा बोलाइएको जनाएको छ ।

    स्विडेनी अधिकारीले बुधबार इरानमाथि लामो समयदेखि स्विडेनभित्र र स्विडेनविरुद्ध सुरक्षा खतरा निम्त्याउने गतिविधि सञ्चालन गरेको आरोप लगाएका थिए ।

    उनका अनुसार इरानले इरानी सरकारका विरोधी तथा स्विडेनमा रहेका केही यहुदी र इजरायली हितलाई लक्षित गरेको थियो ।

    इरानले भने ती आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेको छ ।

    स्विडेनमा ठूलो सङ्ख्यामा इरानी समुदायको बसोबास छ, जसमा इरानी सरकारका केही निर्वासित विरोधी पनि छन् ।

    दुई देशबीच पछिल्ला केही वर्षदेखि कूटनीतिक सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

    गत मार्चमा इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा इरानी–स्विडेनी नागरिकलाई मृत्युदण्ड दिएको थियो ।

    अर्का स्विडेनी–इरानी नागरिक अहमदरेजा जलाली एक दशकभन्दा बढी समयदेखि इरानमा जेलमा छन् ।

    जलालीलाई सन् २०१७ मा इजरायलको जासुसी संस्था मोसादसँग सहकार्य गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

    इरानले दोहोरो नागरिकता स्वीकार गर्दैन ।

    स्विडेनी सुरक्षा निकायले यसअघि इरानमाथि स्विडेनमा रहेका इजरायली तथा अन्य हितविरुद्ध हिंसात्मक गतिविधि गर्न आपराधिक गिरोहका सदस्यलाई परिचालन गरेको आरोप लगाएको थियो ।

    इरानले उक्त आरोप पनि अस्वीकार गरेको छ ।

    स्विडेनी सरकारका अनुसार गाजामा युद्ध सुरु भएपछि सन् २०२३ को अक्टोबरयता स्विडेनमा इजरायली हितसँग सम्बन्धित विभिन्न पक्षलाई लक्षित गरी घटनाहरू भएका छन् ।

    फेब्रुअरी २०२४ मा प्रहरीले स्टकहोमस्थित इजरायली दूतावासको परिसरमा एउटा ग्रेनेड फेला पारेको थियो ।

    यद्यपि यी दुई देशबीच युद्धको सम्भावना नरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images