काठमाडौं– कांग्रेसभित्रको आन्तरिक विवादले तीन धार निर्माण गरेको छ ।
विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगनकुमार थापासहितको संस्थापन पक्ष १५औं महाधिवेशनको तयारीमा जुटेको छ ।
असोज ३ गतेबाट वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा निकट धेरै नेता संस्थापन पक्षमा फर्किएपछि थापा पक्ष उत्साहित छ भने देउवा एक्लिँदै गएका छन् ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट धेरै नेता पनि सानेपा बैठकमा सहभागी भएका छन् ।
तर खड्का भने पार्टी आधिकारिकता विवादको मुद्दा टुंगो नलागेसम्म सानेपा बैठकमा सहभागी नहुने बताइएको छ ।
खड्काले १५औं महाधिवेशन केही समय स्थगित गरी देउवासहितका नेतासँग वार्ता र संवाद गर्न सभापति थापालाई आग्रह गरेका छन् ।
अन्यथा पार्टी विभाजन हुने चेतावनी उनले दिएका छन् ।
१४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा.शेखर कोइरालाले संस्थापन र इतर दुवै पक्षमा नलाग्ने घोषणा गरेका छन् ।
उनी पार्टी एकताका लागि अभियान चलाउने रणनीतिमा छन् ।
सभापति थापाले भने महाधिवेशनको मिति सार्न नसकिने बताउँदै असोज ३ गतेबाट वडा अधिवेशन र १६–१९ गते केन्द्रीय महाधिवेशन हुने जानकारी दिएका छन् ।
देउवा पक्षले भने मंसिर २१–२३ मा महाधिवेशन गर्ने मिति तय गरेको छ ।


विश्व खबर 



















