images
images
  • कसरी बढ्यो रवि–बालेनबीचको दूरी ?

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच पछिल्लो समय राजनीतिक कार्यशैली र नियुक्तिको विषयलाई लिएर दूरी बढ्दै गएको रास्वपा स्रोतले जनाएको छ ।

    भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहले स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय बढाइरहेका बेला लामिछानेले सर्वदलीय बैठक बोलाएपछि दुवै नेताको कार्यशैलीबारे पार्टीभित्र चर्चा भएको बताइएको छ ।

    स्रोतका अनुसार शाह पुराना दलका शीर्ष नेताभन्दा सांसद तथा स्थानीय जनप्रतिनिधिसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहेका छन् ।

    लामिछाने भने कांग्रेस, एमाले र नेकपालगायत दलसँग संवाद बढाउँदै सर्वदलीय बैठकमार्फत राजनीतिक सहकार्य अघि बढाउने प्रयासमा छन् ।

    दुई नेताबीच दूरी बढ्नुको अर्को विषय संवैधानिक नियुक्ति बनेको छ ।

    आगामी माघदेखि संवैधानिक निकायका पदाधिकारीको कार्यकाल सकिँदै जाँदा ५२ पदमा नयाँ नियुक्ति गर्नुपर्ने भएकाले लामिछानेले त्यसमा चासो बढाएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।

    राजदूत नियुक्ति र अन्य राजनीतिक नियुक्तिमा समेत लामिछानेले आफ्नो प्रभाव बढाउन खोजेको स्रोतको भनाइ छ ।

    यद्यपि, यी दाबीबारे दुवै पक्षको औपचारिक धारणा सार्वजनिक भएको छैन ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साहको नियुक्तिले पनि रास्वपाभित्र असन्तुष्टि बढाएको बताइएको छ ।

    लामिछानेले संसदीय दलका उपनेता गणेश पराजुलीलाई मन्त्री बनाउन चाहेको भए पनि शाहले साहलाई नियुक्त गरेको स्रोतको दाबी छ ।

    यसपछि लामिछानेले साहलाई मन्त्रालयमा नयाँ निर्णय नगर्न निर्देशन दिएको र साहले त्यसअनुसार काम गरिरहेको स्रोतले जनाएको छ ।

    यी घटनाक्रमले सरकार सञ्चालन र पार्टी व्यवस्थापनबीचको सहमतिका बाबजुद शाह र लामिछानेबीच समन्वयको चुनौती बढेको संकेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images