images
images
  • सुकुम्बासी फूल

    • images
    • २१ श्रावण २०७८

    सोचेकै थिएं उसैबेला
    तिमी छदम बाटो आउनुहुन्नथियो
    आउनेहरुले आउँदै गर्दा बाटो बिराएपछि यात्रामा उल्टो बाटो रोजेपछि
    मान्छेलाई आफ्नै छायाले पछ्याए झैँ
    पछ्याउँदै आउँछ अनिष्टले
    तिमी आउँदैगर्दा लागेकै हो
    बाटोभरि यात्राभरि
    बेदाग उज्यालो आउनेछैन भनेर
    यी मखमली बाटोहरुमा।

    साँच्चै समय उल्टो बगेको छ।
    लय फरक लागेको छ।
    तिमी सभ्यताको उल्टो नदीमा
    धमिलो बग्यौ
    यी आशाका खेतहरु
    भिजाएर बहने हरियो समयले समेत
    अब निस्सार फर्कनु छ रित्तै रित्तै

    तिमी त्रासको ढोल बजाउंदै आयौ आउँदा
    विनाशको नर्सिङ्गा फुक्दै आयौआउँदा
    आफ्नै अनुहार छोपेर
    जिवित मृत नचिनिने भएर आयौ
    फुकाएर सपनाको ताज
    निभाएर जिउँदाहरुको आवाज
    तिमी कस्तो कस्तो भएर आयौ।

    तिमी आउन त आयौ
    न मन
    न मुटु
    बांच्नेहरुसंग मन हुन्छ मुटु हुन्छ
    होचो होस् अग्लो होस् सपना हुन्छ।
    “सपना त ढुङ्गाले देख्दैन“
    हजुरआमा भन्नुहुन्थ्यो
    त्यस कारण नै हो
    मैले ढुङ्गासँग
    कहिल्यै प्रेमको आश कहिल्यै गरिनँ।

    तिमी आउन त आयौ
    राक्षस जस्तो रुप लिएर
    नरम बाटो कर्याक कर्याक फुटाल्दै आयौ
    बाटोकिनारमा हुर्किंदै गरेका बिरुवा भाँच्दै
    सुन्दर बगैंचा लतार्दै
    फूलहरु बोटहरु जथाभावी टेक्दै कुल्चँदै
    भयङ्कर त्रासको हुरी बोकेर आयौ
    अहङ्कारको बादल झैँ
    उज्यालो छोप्दै आयौ।

    तिर्खाएकाहरुको पानी खोस्यौ
    भोका पेटहरुको गाँस खोस्यौ
    हरेक दिन जसो
    माटोलाई पानीभन्दा धेरै पसिनाले भिजाउँने
    कोदालो खनेर हातभरी ठेला बोकेका
    श्रमजीवीहरुको मुखमा पर्दैगरेको गाँस
    धुरी टाल्दै गरेको घर
    सबै सबै खोस्यौ।

    ए!क्रूर शाषक!
    म त सुकुम्बासी फूल हुँ
    बर्षौदेखि एक मुठी माटोबिना नै
    पहरामाथि फुल्दै आएको छु
    गरिबको सपना खोस्दैमा
    आफूलाई बलवान् नसम्झ

    तिमीले त बिर्सेउ होला
    मेरो काँध सिडि बनाएर
    उक्लिंदै माथिमाथि पुगेको
    म त कहाँ बिर्सन सक्छु र।

    आउ,
    आज मेरो गाँस बास कपास खोसेकोमा
    मेरै छातिमाथि उभिएर बेस्सरी
    विजय उत्सव मनाउ
    नारा जुलुस लगाउ
    तर,
    सपना खोसेपनि
    ओठमा उदाउँदै गरेको एक झुल्को खुशी
    निमोठेर निमिट्यान्न बनाएपनि
    मेरो विचार र बहादुरी
    कहिल्यै खोस्न सक्ने छैनौ।

    समय हो,एकनास बग्दैन
    अहिले त बिर्सियौ सुकुम्बासी फूलहरु
    विचारको हुरीले
    तिमीभित्रको कल्मष
    उडाएको दिन
    फेरि सम्झनेछौँ
    टेक्ने भुइँ र यिनै समाउने हाँगाहरु।

    प्रतिक्रिया दिनुहोस्
    images
    images