काठमाडौं– सिंगापुरबाट फर्केको एक महिना बितिसक्दा पनि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच भेटवार्ता हुन सकेको छैन ।
दुई नेताबीच संवाद नहुँदा कांग्रेसको १५औँ महाधिवेशन अलग–अलग हुने सम्भावना बढेको छ ।
सभापति थापाले देउवासँग भेटका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पटक–पटक पहल गरेको बताएका छन् ।
महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले १ भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए ।
तर देउवा पक्षले भने एकपटक मात्र समय मागिएको र भेटका लागि आफूहरूले पनि पहल गरेको दाबी गरेको छ ।
यसैबीच, सर्वोच्च अदालतले ४ वैशाखको फैसला पुनरावलोकनका लागि निस्सा दिएपछि देउवा पक्ष थप उत्साहित देखिएको छ ।
बुधबार भक्तपुरमा आयोजित बीपी जयन्ती कार्यक्रममा देउवाले सर्वोच्चबाट निस्सा पाउनु आफूहरूको ‘आधाभन्दा बढी जित’ भएको दाबी गरे ।
विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको थियो ।
पुनरावलोकनबाट पार्टीको आधिकारिकता आफूहरूले पाउने विश्वास देउवाले व्यक्त गरेका छन् ।
यता, देउवा पक्षको नेतृत्वमा शशांक कोइराला सक्रिय भएका छन् ।
उनले देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने सहमति भए पार्टी एकता सम्भव हुने बताएका छन् ।
संस्थापन पक्षले १६–१९ गते महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको छ भने देउवा पक्षले १५ असोजबाट वडा अधिवेशन सुरु गरी २१–२३ गते केन्द्रीय महाधिवेशन गर्ने छुट्टै तालिका अघि सारेको छ ।






















