काठमाडौं– १ वर्षअघि जेनजी युवाले २३ भदौको तयारी गरिरहँदा त्यसलाई शान्तिपूर्ण प्रदर्शनका रूपमा अघि बढाउने योजना बनाएका थिए ।
जब प्रदर्शन सुरु भयो, त्यसपछि २३ भदौअघि बुनिएका शन्तिपूर्ण योजना पूर्ण रूपमा भत्किए, त्यही दिन राज्यका तर्फबाट भएको बर्बर दमनले २४ भदौमा आमनागरिकलाई पनि सडकमा उतार्यो ।
आक्रोशको अभिव्यक्ति एकाएक अराजक र हिंसात्मक बन्यो ।
सयौँ संरचना त्यसको सिकार बने ।
देशका प्रमुख प्रशासनिक तथा ऐतिहासिक धरोहरहरूमा आगो झोसियो ।
मुलुकको सर्वोच्च न्यायिक निकाय, सार्वभौम व्यवस्थापिका र कार्यपालिकाको प्रशासनिक भवनसँगै जनताको सर्वोच्चताको प्रतीक राष्ट्रपति भवन खरानीमै परिणत गर्ने विश्मयकारी आक्रोश पोखियो ।
१२० बर्से इतिहास बोकेको सिंहदरबार र शताब्दी पुरानो शीतलनिवासलाई त्यो नग्न विध्वंसको लाज छोप्न ढाकेर राखिएको छ भने सर्वोच्च अदालतको ऐतिहासिक भवन आफैँ न्याय नपाएर उजाड बनेको छ ।
गणतन्त्रको उद्घोष थलो तत्कालीन संसद् भवन अहिले खण्डहर बनेको छ । के थियो यी ४ धरोहरको इतिहास ?
१२० वर्षको इतिहास बोकेको सिंहदरबार
नेपालको राजनीतिक तथा प्रशासनिक इतिहाससँग जोडिएको सिंहदरबारको इतिहास १२० वर्ष पुरानो हो ।
१९६५ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा बनेको सिंहदरबार सुरुमा चन्द्रशम्शेरकै निजी निवासका रूपमा प्रयोग भएको थियो ।
करिब २८ वर्षसम्म उनी यही दरबारमा बसे ।
दरबारको निर्माण पूरा भएपछि चन्द्रशम्शेरले यो भवनलाई प्रधानमन्त्रीको सरकारी आवासका रूपमा रहने गरी सरकारलाई नै २ करोड रुपैयाँमा बेचेका थिए ।
२००७ सालसम्म यसलाई प्रधानमन्त्री निवासकै रूपमा प्रयोग गरियो ।
यसलाई प्रधानमन्त्री निवासका रूपमा प्रयोग गर्ने अन्तिम प्रधानमन्त्री मोहनशम्शेर रहे ।
२००७ सालमा राणाशासनको अन्त्यपछि पनि उनी २००९ सालसम्म त्यहीँ रहे ।
तर, २००९ मा उनलाई सिंहदरबार छाड्न आदेश दिँदै राष्ट्रिय सम्पत्ति बनाइएपछि यसलाई पूर्ण रूपमा प्रशासनिक अड्डाका रूपमा प्रयोगमा ल्याइयो ।
२०३० सालमा आगलागी हुनुअघि सिंहदरबारमा ८ वटा चोक र १ हजार ७०० कोठा रहेको यो भवन एसियाकै ठुलो प्रशासनिक कार्यालय थियो ।
२०७२ सालको भूकम्पले पनि सिंहदरबारमा निकै क्षति पुर्याएको थियो ।
त्यसपछि रेट्रोफिटिङ गरी पुनः सञ्चालनमा ल्याइएको थियो ।
शताब्दी पुरानो शीतलनिवास
काठमाडौँको महाराजगन्जस्थित अहिलेको राष्ट्रपति भवन अर्थात् शीतलनिवास दरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेरले १९८० सालमा आफ्नी जेठी बडामहारानी लोकभक्तलक्ष्मी देवीतर्फका कान्छा छोरा कृष्णशम्शेरका लागि बनाइदिएका थिए ।
कुमारनरसिंह राणा र किशोरनरसिंह राणाको डिजाइनमा तयार भएको यो दरबार करिब १४० रोपनीमा फैलिएको छ भने १९९० सालको महाभूकम्पबाट क्षतिग्रस्त भए पनि कृष्णशम्शेरले पुनः मर्मत गराई आधुनिक बनाएका थिए ।
पछि कृष्णशम्शेरले यो भवन तत्कालीन सरकारलाई हस्तान्तरण गरेका थिए ।
त्यसपछि श्री ५ को सरकारले यो भवनलाई सरकारी अतिथिगृहका रूपमा प्रयोग गरेको थियो भने केही समय यसलाई परराष्ट्र मन्त्रालयका रूपमा पनि प्रयोग गरियो ।
गणतन्त्रपछि २०६५ सालमा नेपाल सरकारले यस दरबारलाई राष्ट्रपति भवनमा परिणत गरेको थियो ।
विडम्बना २०७२ सालको भूकम्पमा क्षति पुगे पनि फेरि ठडिएको शताब्दी पुरानो यो शीतलनिवास दरबार गत भदौ २४ मा जेनजी आन्दोलनका नाममा अराजक गतिविधिमा उत्रिएकाहरूले आगो झोसिदिएका थिए ।
सम्मेलन केन्द्र हुँदै संसद् भवन, अहिले खण्डहर
चीन सरकारको करिब १ अर्ब अनुदान र नेपाल सरकारको डेढ करोड लागतमा २०५० सालमा तयार भएको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र त्यसबेला ठुला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, सेमिनारजस्ता कार्यक्रमकै लागि भनेर बनाइएको थियो ।
सन् २००२ को दोस्रो र २०१४ को तेस्रो सार्क शिखर सम्मेलन यही केन्द्रमा भएको थियो ।
१५३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त सम्मेलन केन्द्रमा २०६३ सालसम्म विभिन्न प्रदर्शनी र भेला–कार्यक्रम हुँदै आएकामा २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि यसलाई संविधानसभा हुँदै संसद् भवनका रूपमा प्रयोग गरिएको थियो ।
३ असोज, २०७२ मा यही सम्मेलन केन्द्रबाटै संविधान घोषणा गरिएको थियो । २०७२ को भूकम्पमा आंशिक क्षति भए पनि चीन सरकारले मर्मत गरिदिएको थियो ।
तर, जेनजी आन्दोलनका कारण अहिले यो भवन खण्डहरजस्तै बनेको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत रहेको भवनको क्षतिबारे विस्तृत अध्ययन भए पनि पुनर्निर्माण हुने कुनै सम्भावना छैन ।
यसको ठाउँमा नयाँ संरचना बनाउनेबारे मन्त्रालयले छलफल सुरु गरिसकेको छ ।
न्यायिक प्रतीक बनेको सर्वोच्चको त्यो भवन
करिब ६० वर्षसम्म सर्वोच्च अदालतको प्रतीकका रूपमा ठडिएको मौलिक र पुरानो भवन अहिले खण्डहर छ ।
सर्वोच्च अदालत रहेकै कारण त्यसअगाडिको सडकको नाम नै रामशाह पथ राखिएको इतिहासविद्हरू बताउँछन् ।
गोरखा राज्यका चौथो शाह वंशीय राजा राम शाहलाई नेपाली इतिहासमा न्यायमूर्तिका रूपमा हेरिएकाले सर्वोच्च जाने बाटोलाई नै न्यायको प्रतीकका रूपमा राजा राम शाहको नाम दिइएको थियो ।
२०७२ सालको भूकम्पले केही समय थलिएको उक्त भवन पुनर्निर्माणपछि पुनः पुरानै स्वरूपमा फर्किएको थियो ।
तर, पुनर्निर्माण सकिएको ८ वर्षमै उक्त ऐतिहासिक भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीको सिकार बन्यो ।
हुन त त्यसअघि नै सर्वोच्च अदालतका लागि छेवैमा अर्को नयाँ भवन बनिरहेका कारण काम गर्न कुनै समस्या नभए पनि हजारौँ मिसिल र कागजातसँगै नेपालको ऐतिहासिक धरोहर भने खण्डहर बनेको छ ।
अहिले सर्वोच्चको सम्पूर्ण काम छेवैमा बनेको नयाँ भवनबाट भइरहेको छ भने पुनर्निर्माणपछि सर्वोच्चको उक्त पुरानो भवनलाई न्यायिक संग्रहालय बनाइने भएको छ ।
पुनर्निर्माणका लागि ठेक्का खोल्ने तयारी : चक्रवर्ती कंठ, सुपरिटेन्डेन्ट इन्जिनियर, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय
राष्ट्रपति भवन शीतलनिवास, सर्वोच्च अदालत र सिंहदरबारको पुनर्निर्माणका लागि डिजाइन सकिएको छ ।
त्यसमध्ये शीतलनिवास र सिंहदरबारको डिजाइन सहमतिका लागि पुरातत्व विभाग पठाइएको छ ।
क्षति र पुनर्निर्माणतर्फ सर्वोच्चमा ३ वटा कोठामा बढी क्षति पुगेको छ भने त्यसका लागि रेट्रोफिट र नयाँ प्लास्टर गरेर पुरानै स्वरूपमा ल्याइनेछ ।
शीतलनिवास र सिंहदरबारमा पनि रेट्रोफिट नै गर्ने हो ।
त्यहाँका केही फलामे पिलरहरू बांग्गिएका छन्, त्यसको ठाउँमा नयाँ पिलर हाल्ने काम हुन्छ ।
यसका लागि हामीले बहुवर्षीय ठेक्का लगाउने तयारी गरेका छौँ, सम्भवतः असोजभित्रै ठेक्का प्रक्रिया सुरु हुन्छ कि !
भन्ने हाम्रो अनुमान छ ।






















