काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न नेताहरूले अन्तिम प्रयास गरिरहेका छन् ।
केन्द्रीय निर्वाचन समितिले भदौ २४ गतेका लागि तोकेको वडा अधिवेशन लगभग एक साता सार्ने तयारी भएको छ ।
सम्भवतः असोज २ गतेसम्म अधिवेशन सारिने पार्टी स्रोतले जनाएको छ ।
सभापति गगन थापाले इतर समूहका नेता पूर्णबहादुर खड्का तथा डा.शेखर कोइरालासँग अनौपचारिक वार्ता गरिरहेका छन् ।
डा.कोइरालाले एकताका लागि राखेको ५ बुँदे प्रस्तावमा अधिकांश विषयमा सहमति जुट्ने सम्भावना देखिएको छ ।
सोही क्रममा शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक पनि आइतबारसम्म सारिएको छ ।
यसैबीच, क्रियाशील सदस्यता अद्यावधिकका लागि दिइएको समय आज सकिँदै छ ।
तर, सहमति नजुटेपछि इतर समूहका नेताकर्मीले अद्यावधिक नगरेको बताइएको छ ।
सदस्यता व्यवस्थापन समितिले फाइल खुल्ला राखेर पर्खने रणनीति लिएको छ ।
पूर्वसभापति शेरबहादुर देउवा भने सर्वोच्च अदालतमा रहेको पुनरवलोकन निवेदनको फैसला आएपछि मात्र वार्तामा जाने तयारीमा रहेको स्रोतको भनाइ छ ।






















