काठमाडौं– सरकारले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनर्स्थापनाका लागि विभिन्न सहुलियत दिने, बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउनेदेखि भदौ २२ गते राष्ट्रिय शोक मनाउनेसम्मका ७ निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।
बैठकले एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावितको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार र राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुलमा सहुलियत र अन्य सुविधा उपलब्ध गराउने* निर्णय भएको छ ।
सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत २५ हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको छ ।
उक्त चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गरिनेछ ।
बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचार तथा मृत्यु भएमा परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।
मन्त्रिपरिषद्ले २०८३ भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी, २०८३ भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
बैठकले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गर्ने निर्णयसमेत गरेको छ ।
उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्का ७ निर्णय :
१. भोटेकोशी बाढी प्रभावितका लागि एडीबीको ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने ।
२. बाढी प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसाय पुनः सञ्चालनका लागि राहत तथा कर–महसुलमा सहुलियत दिने ।
३. २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने ।
४. उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवकलाई जोखिम भत्ता, खाजा खर्च, निःशुल्क उपचार र मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत दिने ।
५. भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने ।
६. भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउँदै सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने ।
७. नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा गरी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने ।






















