काठमाडौं– नेपाली कांग्रेसमा समानान्तर महाधिवेशनको प्रस्ताव गरिएको छ, तर सो प्रस्ताव पेस गरिएको बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला उपस्थित छैनन् ।
सहमहामन्त्री उमाकान्त चौधरीले चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा मंसिर २१–२३ गते महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्तुत गरेका हुन् ।
यो प्रस्तावमा नेता प्रकाशशरण महत, पद्मनारायण चौधरी, सीता गुरुङलगायतले धारणा राखिसकेका छन् भने आज दिउँसो पुनः बैठक बस्दै छ ।
देउवा–खड्काले महाधिवेशन रोक्न दिएको रिट सर्वोच्चले खारेज गरेपछि देउवापक्षीय नेताहरूले बेग्लै तयारी थालेका हुन् ।
तर खड्का र शेखरनिकट नेताहरू भने बैठकमा सहभागी छैनन् ।
नेता रामहरि खतिवडाले पार्टी एकताको पक्षमा आफू रहेको बताउँदै दुईवटा महाधिवेशनको अवस्था सिर्जना भएको स्वीकार गरे ।
शेखर कोइरालाले पनि एकताका लागि भूमिका खेल्ने बताए पनि चुनदेवी बैठकमा नआएको देखिन्छ ।
तर बैठक आयोजक समितिका संयोजक दीपकप्रसाद कुईकेलले भने देउवा, खड्का र कोइरालासँग परामर्श गरेरै बैठक गरिएको दाबी गरेका छन् ।
यसैबीच, सभापति गगन थापाले भदौ २० गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् ।
कांग्रेसले वडा अधिवेशन भदौ २४ बाट सुरु गर्ने तयारी गरिरहेको छ भने करिब ८ लाख क्रियाशील सदस्य रहेको पार्टीमा औपचारिक विभाजनको सम्भावना बढ्दो देखिएको छ ।






















