विराटनगर– श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित तथा संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।
बुधबार केन्द्रीय समिति बैठकमा उनले विधान निर्माण, आर्थिक पारदर्शिता, उम्मेदवार छनोट मापदण्ड, सामूहिक नेतृत्व, डिजिटल प्रणाली, श्रमदान विभाजन, वार्षिक क्यालेन्डर, अनुशासन आयोग र संवाद संयन्त्रलगायत विषयमा प्रस्ताव गरेका हुन् ।
पार्टीको नामअनुरूप श्रम संस्कृतिलाई जनमुखी बनाउन उनले श्रमदान अभियानलाई प्राथमिकता दिनुपर्नेसमेत सुझाव दिएका छन् ।
तर, उक्त प्रस्तावप्रति पार्टी अध्यक्ष हर्क साम्पाङ सन्तुष्ट देखिएका छैनन् ।
उनले उक्त बुँदाले पार्टी एकढिक्का नभई फुटमा जाने भन्दै फरक प्रस्ताव नराख्न चेतावनी दिएका थिए ।
तथापि किरातीले हर्कको चेतावनी लत्याउँदै आफू खुसी २४ बुँदे प्रस्ताव प्रस्तुत गरेपछि अहिले पार्टीका नेताहरूमा भयानक फाटो आएको स्रोतको दाबी छ ।
किराती यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र) मा आवद्ध थिए ।
त्यसपछि उनी प्रगतिशिल लोकतान्त्रिक पार्टीमा थिए भने अहिले श्रम संस्कृतिको वरिष्ठ नेता छन् ।
श्रम संस्कृतिमा उनले निहुँ खोजिरहेका छन् ।






















