सुर्खेत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण कर्णाली प्रदेशमा तीन नवनियुक्त मन्त्रीको शपथ रोकिएको छ ।
सोमबार बिहान ११ बजेका लागि तय गरिएको शपथ कार्यक्रम मन्त्री छनोटमा सहमति नजुटेपछि अन्तिम समयमा स्थगित गरिएको हो ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयमा समय मागे पनि उक्त समयमा मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि उनैको आग्रहमा कार्यक्रम रोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
सत्ता साझेदार नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार नेकपाले पाउने तीन मन्त्रालयमा अझै कोही नियुक्त भएका छैनन् ।
एमालेतर्फ भने एक साताअघि नै मन्त्री नियुक्त भइसकेका छन् ।
नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफ्नो भागमा पाएको छ ।
मुख्यमन्त्री शाही नियुक्त भएको २८ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
आज सांसद विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम चर्चामा थियो, तर पूर्व समाजवादी पक्षले प्रदेशमा आफ्नो भाग खोजेपछि विवाद बढेको नेकपा स्रोतले बताएको छ ।
नेकपाका एक सांसदका अनुसार पूर्व समाजवादी पक्ष र पार्टीभित्रका आकांक्षीको दबाबका कारण विवाद चर्किएको हो ।
उनले भने, ‘दलको बैठकबाट टुंग्याउनुको साटो मुख्यमन्त्रीले खल्तीबाट नाम पठाउनुभएछ, त्यहीँ विवाद भएको हो ।’
साथै, सबै सांसदलाई पालो पुर्याउने प्रयासले सक्षम उम्मेदवारलाई मन्त्री बनाउनुभन्दा विवाद थपिएको उनको भनाइ छ ।
पूर्व समाजवादी पक्षले कर्णालीमा रहेको आफ्नो एक मात्र प्रदेश सभा सदस्यलाई समेत मन्त्री बनाउन दबाब दिइरहेको छ, जसले थप जटिलता निम्त्याएको छ ।























