images
images
  • पर्यटन प्रवर्द्धनमा नाट्टा र टिवानबीच सहकार्य, पर्यटक बसपार्क समस्या समाधानमा जोड

    काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटन व्यवसायीका साझा समस्या समाधानका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) बीच सहकार्य हुने भएको छ ।

    टिवानले आयोजना गरेको नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा नाट्टाका नवनिर्वाचित अध्यक्ष भरतजङ्ग पाण्डेले पर्यटन क्षेत्रको विकास र व्यवसायीका साझा समस्या समाधानका लागि टिवानसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    अध्यक्ष पाण्डेले टिवान नाट्टाकै अभिन्न अङ्ग भएकाले दुवै संस्थाका समस्या र सरोकार समान रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रका महत्वपूर्ण विषयमा एकताबद्ध भएर अघि बढ्ने धारणा राख्नुभयो ।

    “टिवान छुट्टै संस्था नभई हाम्रो आफ्नै परिवार हो । पर्यटन क्षेत्रका हरेक एजेन्डामा हामी एक भएर अगाडि बढ्नेछौँ,” उहाँले भन्नुभयो ।

    कार्यक्रममा टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक बस तथा समग्र पर्यटन उद्योगले विभिन्न समस्या भोगिरहेको भन्दै ती समस्या समाधानका लागि वर्तमान कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    नाट्टाका महासचिव राजकुमार देवकोटाले पर्यटक बसपार्कको समस्या टिवानका व्यवसायीको मात्र नभई समग्र पर्यटन क्षेत्रकै समस्या भएको बताउनुभयो । उहाँले पर्यटक बसपार्कको उचित व्यवस्थापनका लागि नाट्टाले प्रतिबद्ध भएर पहल गर्ने बताउनुभयो ।

    टिवानका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्थायी पर्यटक बसपार्क नहुँदा व्यवसायीले लामो समयदेखि समस्या भोग्दै आएको बताउनुभयो । उहाँले पर्यटक बसपार्क निर्माण तथा व्यवस्थापनका लागि नाट्टासँग सहकार्य गरिने जानकारी दिनुभयो ।

    हाल टिवानले अस्थायी बसपार्कका रूपमा सोह्रखुट्टेको सडक प्रयोग गर्दै आएको छ । पर्यटक बसको चाप बढ्दै गए पनि व्यवस्थित बसपार्कको अभावमा व्यवसायी तथा पर्यटक दुवैले समस्या भोग्नुपरेको टिवानको भनाइ छ ।

    टिवानका महासचिव प्रकाशचन्द्र अधिकारीका अनुसार संस्थामा आबद्ध व्यवसायीले दैनिक करिब १०० पर्यटकीय बसमार्फत देशका प्रमुख पर्यटकीय गन्तव्यमा सेवा दिँदै आएका छन् । ती बसमार्फत पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका गन्तव्यमा स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सेवा उपलब्ध हुँदै आएको छ ।

    नेपालको पर्यटनलाई थप व्यवस्थित, सुरक्षित र सहज बनाउन पर्यटक यातायातको महत्वपूर्ण भूमिका रहेकाले पर्यटक बसपार्कसहित व्यवसायीका अन्य समस्या समाधानका लागि दुवै संस्थाले संयुक्त रूपमा पहल गर्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images