images
images
  • काँकरभिट्टा नाकाबाट २४ अर्बभन्दा बढीको कृषिउपज आयात

    काठमाडौं– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढी रुपैयाँको कृषिजन्य वस्तु नेपाल भित्रिएको छ ।

    प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी २४ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरको कृषिउपज आयात भएको हो ।

    आयातीत कृषिजन्य वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको कार्यालयले जनाएको छ । भारतबाट २४ करोड २३ लाख १३ हजार रुपैयाँको चामल तथा १८ करोड ८३ लाख रुपैयाँको कोदो आयात भएको छ ।

    त्यस्तै, अष्ट्रेलिया र भारतबाट १८ करोड २७ लाख ९९ हजार रुपैयाँ बराबरको १ हजार ९९६ मेट्रिक टन चना आयात भएको छ । अष्ट्रेलियाबाट १० करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको ७९६ मेट्रिक टन मासको दाल नेपाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    ताजा तरकारीतर्फ भारतबाट गोलभेँडा, काँक्रा, भेडे खुर्सानी र फर्सी उल्लेख्य मात्रामा आयात भएको छ। एक वर्षमा १४ करोड ३९ लाख ६६ हजार रुपैयाँको गोलभेँडा, ७ करोड ९० लाख ६४ हजार रुपैयाँको काँक्रा तथा ३ करोड २४ लाख ३५ हजार रुपैयाँको खुर्सानी आयात भएको छ ।

    फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटहर, तरबुजा र नास्पाती मुख्य रूपमा आयात भएका छन् । भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ तथा भारतबाट १४ करोड २४ लाख ८१ हजार रुपैयाँको तरबुजा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

    काँकरभिट्टा नाकाबाट कृषिजन्य वस्तुको ठूलो परिमाणमा आयात हुनुले नेपालको खाद्यान्न, दलहन, तरकारी तथा फलफूल बजारमा बाह्य निर्भरता कायमै रहेको देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images