images
images
  • सेबोनले ऋणपत्र बजार विस्तार गर्न नयाँ नियमावलीको मस्यौदा ल्यायो

    काठमाडौं– नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई थप विविधिकृत र प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ ।

    बोर्डले मस्यौदामाथि सरोकारवालासँग राय, सुझाव तथा प्रतिक्रिया माग गर्दै सात दिनको समय दिएको छ । सुझाव बोर्डको आधिकारिक इमेलमा पठाउन सकिनेछ ।

    प्रस्तावित नियमावलीमार्फत हाल मुख्यतः बैंक तथा वित्तीय संस्थामा सीमित रहेको ऋणपत्र निष्काशनको दायरा विस्तार गरी अन्य योग्य संगठित संस्थालाई समेत दीर्घकालीन वित्तीय स्रोत जुटाउने बाटो खोल्ने तयारी गरिएको छ ।

    बोर्डका अनुसार यसले नेपालको पूँजी बजारलाई शेयरमा मात्र केन्द्रित अवस्थाबाट बहुउत्पादनमा आधारित बजारमा रूपान्तरण गर्न सहयोग पुग्नेछ। ऋणपत्र बजार विस्तारसँगै बजारको गहिराइ, तरलता तथा जोखिम व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

    नेपालको पूँजी बजार विकास मार्गचित्र २०८३ र आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमअनुसार संस्थागत ऋणपत्र बजार विकास गर्ने योजनाअन्तर्गत मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ ।

    बोर्डको कानून प्रवलीकरण समितिले तयार पारेको मस्यौदालाई सार्वजनिक छलफलपछि प्राप्त सुझावका आधारमा परिमार्जन गरी अन्तिम रूप दिइनेछ । नियमावलीको मस्यौदा तथा मुख्य विशेषता बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images