काठमाडौं– विश्वका दुई ठूला पर्यटन बजार भारत र चीनको बीचमा रहेको नेपालले अब आफ्नै छिमेकीबाट पर्यटनको ठूलो लाभ लिन सक्ने देखिएको छ । सन् २०२६ को पहिलो सात महिनाको पर्यटक आगमनले भारतलाई नेपालको बलियो पर्यटन बजार र चीनलाई तीव्र गतिमा विस्तार भइरहेको बजारका रूपमा देखाएको छ ।
जनवरीदेखि जुलाईसम्म नेपालमा ६ लाख ९२ हजार २२८ विदेशी पर्यटक आएका छन्। जुलाईमा मात्रै ७१ हजार ७७५ पर्यटक नेपाल भित्रिएका छन् ।
मनसुनका कारण सामान्यतः पर्यटन सुस्त हुने समयमा समेत पर्यटक आगमन बढेको छ। मेमा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत, जुनमा १९ दशमलव ५ प्रतिशत र जुलाईमा २ दशमलव ३ प्रतिशतले पर्यटक बढेका छन् ।
जुलाईमा भारतबाट मात्रै २३ हजार ४९० पर्यटक आएका छन्। खुला सीमा, सहज पहुँच र धार्मिक तथा सांस्कृतिक सम्बन्धका कारण भारत नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटन बजार बनेको छ ।
भारतबाट पर्यटकको संख्या बढाउने मात्र नभई उनीहरूको खर्च र बसाइ बढाउने गरी धार्मिक पर्यटन, विवाह पर्यटन, स्वास्थ्य तथा विश्राम पर्यटन, गल्फ, सम्मेलन र विलासी पर्यटनका प्याकेज विकास गर्न सकिने सम्भावना छ ।
यता चीनबाट जुलाईमा ११ हजार ९९ पर्यटक आएका छन्। अघिल्लो वर्षको सोही महिनामा ६ हजार ८९० चिनियाँ पर्यटक आएका थिए। यसपटक चिनियाँ पर्यटकको संख्या ६१ प्रतिशतभन्दा बढी बढेको हो ।
चिनियाँ बजार विस्तारका लागि हवाई सम्पर्क, चिनियाँ भाषामा सूचना, डिजिटल प्रचार, विद्युतीय भुक्तानी तथा लुम्बिनी, हिमाल र साहसिक पर्यटनलाई लक्षित प्याकेज आवश्यक देखिएको छ ।
नेपालसँग विश्वका दुई विशाल पर्यटन बजार छिमेकीमै छन् । अब चुनौती पर्यटक ल्याउनु मात्र नभई भारत र चीनबाट बढी खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाइ लम्ब्याउने र काठमाडौं बाहिरका गन्तव्यमा पुर्याउने रहेको छ ।


विश्व खबर 




















