images
images
  • नेपालको टिङटिङ श्रीलंकाली बजारमा, डायलगसँग रणनीतिक साझेदारी

    काठमाडौं– नेपालमा विकास भएको कृत्रिम बुद्धिमत्तामा आधारित व्यावसायिक सञ्चार प्रविधि अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने क्रमले नयाँ गति लिएको छ। नेपाली प्रविधि कम्पनी प्रिक्साले विकास गरेको टिङटिङले श्रीलंकाको अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ ।

    सम्झौतामा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिष शर्मा र डायलगका नवप्रवर्तन तथा मञ्च व्यवसाय प्रमुख एवं उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन् ।

    सम्झौतासँगै टिङटिङले श्रीलंकाली बजारमा आफ्ना प्रविधि तथा सेवा विस्तार थालेको छ। कम्पनीले टिङटिङ सञ्चार समूहअन्तर्गत टिङटिङ कनेक्ट, टिङटिङ ओम्नी, टिङटिङ ब्रोडकास्ट र टिङटिङ एजेन्ट गरी चार प्रमुख सेवा उपलब्ध गराएको छ ।

    प्रिक्साका प्रमुख कार्यकारी अधिकृत शर्माले डायलगजस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताएका छन्। उनका अनुसार यो साझेदारी व्यावसायिक विस्तारमा मात्र सीमित नभई नेपाल र श्रीलंकाबीच प्रविधिमा आधारित बलियो सहकार्यको आधार बन्नेछ ।

    टिङटिङ कनेक्टले संस्थाको आफ्नै पूर्वाधारमा जडान भएर सञ्चालन गर्न सकिने सुविधा दिन्छ। ‘द बक्स’ उपकरणमार्फत संस्थाको तथ्यांक संस्थाभित्रै सुरक्षित राख्दै सेवा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

    त्यस्तै, टिङटिङ ओम्नीले ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएसलगायत विभिन्न माध्यमबाट आउने ग्राहक संवादलाई एउटै प्रणालीमा व्यवस्थापन गर्न सकिन्छ।

    टिङटिङ ब्रोडकास्टमार्फत हजारौँ ग्राहकलाई एकैपटक स्वचालित आवाजमार्फत सूचना तथा सम्झना पठाउन सकिन्छ भने टिङटिङ एजेन्टले स्थानीय भाषामा ग्राहकसँग प्रत्यक्ष संवाद गर्दै आवश्यक परे मानव सेवाप्रतिनिधिसँग संवाद जोड्ने सुविधा दिन्छ ।

    नेपाली भाषामा विकास भएको यी प्रविधि अहिले अङ्ग्रेजी र सिंहली भाषामा समेत उपलब्ध छन्। कम्पनीले श्रीलंकाली बजारका लागि तमिल र सिंहली भाषाको थप परिष्कृत आवाज प्रविधि विकासमा समेत काम गरिरहेको जनाएको छ ।

    नेपालमा विकास भएको प्रविधि दक्षिण एसियाली बजारमा प्रवेश गर्नु नेपाली सूचना प्रविधि उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

    नेपालमा बनेको प्रविधिलाई विश्व बजारमा पुर्‍याउने लक्ष्यसहित अघि बढेको टिङटिङको श्रीलंका प्रवेशले नेपाली प्रविधि कम्पनीले अन्तर्राष्ट्रियस्तरका उत्पादन विकास गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावनालाई थप बलियो बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images