काठमाडौं– संघीय अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्न चालु आर्थिक वर्षमा ४ अर्ब ६८ करोड ९८ लाख ३० हजार रुपैयाँ थप बजेट आवश्यक पर्ने भएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय शिक्षण सहयोग अनुदानमा कार्यरत माध्यमिक तहका शिक्षकको पारिश्रमिक ४३ हजार ६६९ बाट बढाएर ४८ हजार ५८ र आधारभूत तहका शिक्षकको ३४ हजार ७३० बाट ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ।
प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय सहयोगी र कर्मचारीको पारिश्रमिकमा पनि मासिक ५ हजार रुपैयाँ वृद्धि गरिएको छ। अब प्रारम्भिक बालविकास सहजकर्ताले १७ हजार, विद्यालय सहयोगीले १५ हजार र लेखा हेर्ने कर्मचारीले २० हजार रुपैयाँ पाउनेछन्।
वृद्धि कार्यान्वयनका लागि अर्थ मन्त्रालयसँग थप बजेटको सहमति मागिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयको सहमतिपछि नयाँ पारिश्रमिक कार्यान्वयनमा आउनेछ।


विश्व खबर 




















