images
images
  • अब मोबाइलमै थाहा पाइनेछ, बस कहाँ छ र कहिले आइपुग्छ

    काठमाडौं– काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको अवस्था मोबाइलबाटै थाहा पाउन सकिने भएको छ। संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्ले ‘केटीएम सार्वजनिक यातायात’ मोबाइल एप सञ्चालनमा ल्याएको हो।

    बुधबार परिषद्को तेस्रो बैठकमा परिषद् अध्यक्ष एवं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरिन्।

    एपमार्फत यात्रुले उपत्यकामा सञ्चालन भइरहेका सार्वजनिक सवारीसाधन कुन स्थानमा छन्, आफू पर्खिरहेको स्थानमा पुग्न कति समय लाग्छ भन्नेजस्ता जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।

    हाल एपमा जिपिएस जडान भएका करिब १ हजार २ सय सार्वजनिक सवारीसाधन समेटिएका छन्। आगामी दिनमा जिपिएस जडान भएका थप सवारीसाधनलाई पनि प्रणालीमा जोडिने परिषद्ले जनाएको छ।

    कार्यवाहक प्रमुख डंगोलले सार्वजनिक यातायातलाई सरल, सहज र पहुँचयोग्य बनाउन प्रविधिको प्रयोगसँगै रात्रिकालीन बस सेवा विस्तार र विद्यार्थीका लागि बिहान सबेरैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताइन्।

    उनले सार्वजनिक यातायात कुनै एक स्थानीय तहको मात्र विषय नभएकाले काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यकाका स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताइन्।

    ललितपुर महानगरपालिकाका प्रमुख तथा परिषद्का उपाध्यक्ष चिरीबाबु महर्जनले यात्रुले सार्वजनिक बस चढ्दा सहजताको अनुभूति गर्ने गरी यातायात प्रणाली सुधार गर्नुपर्ने बताए।

    परिषद्ले चालु आर्थिक वर्षमा ८८मुख्य बसस्टपमा सार्वजनिक यातायात सूचना प्रणाली जडान, रात्रि बस सञ्चालन, बसस्टप तथा यात्रु चढाउने–ओराल्ने स्थान निर्धारण, नगदरहित भाडा प्रणालीका लागि कानुनी तयारी र जिपिएसमा आधारित यातायात सूचना प्रणाली विस्तार गर्ने योजना अघि सारेको छ।

    यात्रुले टिकट लिने संस्कार विकास गर्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने तथा सम्पदा र पर्यटकीय क्षेत्रलाई लक्षित गरी सार्वजनिक यातायात सञ्चालनबारे अध्ययन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

    परिषद्का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले अन्तरसरकारी समन्वयको अभावका कारण विगतमा केही काम अघि बढाउन कठिनाइ भए पनि पुनर्संरचनापछि चालु आर्थिक वर्षका कार्यक्रम अघि बढाइएको बताए।

    नयाँ एपले उपत्यकाको सार्वजनिक यातायातमा यात्रुको सबैभन्दा ठूलो समस्या—‘बस कहाँ छ र कहिले आउँछरु’—को जवाफ मोबाइलमै दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images