काठमाडौं– पर्यटन क्षेत्रलाई दीर्घकालीन, प्रभावकारी र व्यापक बनाउन ‘पर्यटन विधेयक, २०८१’ मा नयाँ शैलीका पर्यटनलाई समेट्न सरोकारवालाले जोड दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा विधेयकबारे छलफल गर्दै होटल व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिले हरित पर्यटन, आरोग्य पर्यटन, धार्मिक पर्यटन, वैवाहिक पर्यटनलगायतका नयाँ सम्भावनालाई कानुनी दायरामा समेट्नुपर्ने बताएका हुन्।
होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले विधेयकको मस्यौदाले पर्यटन क्षेत्रको समग्र विकासभन्दा क्यासिनो विस्तारमा बढी जोड दिएको टिप्पणी गर्नुभयो।
उहाँले चारतारे र पाँचतारे होटलसम्बन्धी व्यवस्था होटल संघले हेर्ने तथा होटलले क्यासिनो सञ्चालन गरेबापत १० प्रतिशत सेयर लिनुपर्ने बाध्यकारी प्रावधान हटाउनुपर्ने माग गर्नुभयो।
अध्यक्ष शाहले पर्यटन व्यवसायलाई विविधीकरण गर्दै नयाँ गन्तव्य, नयाँ पर्यटन उत्पादन र बदलिँदो पर्यटकको रुचिअनुसार नीति तथा कानुन बनाउनुपर्नेमा जोड दिनुभयो।
समितिका सभापति सुम्निमा उदासले पर्यटन क्षेत्र मुलुकको गौरव, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले विधेयकलाई प्रभावकारी बनाउन गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो।
उहाँले विधेयक संशोधनका क्रममा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित व्यवसायी तथा सरोकारवालाबाट पर्याप्त राय–सुझाव लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
छलफलमा सहभागी सरोकारवालाले बदलिँदो विश्व पर्यटन बजारअनुसार नेपालको पर्यटन नीति तथा कानुन परिमार्जन गर्नुपर्ने र पर्यटनलाई आर्थिक विकास, रोजगारी तथा विदेशी मुद्रा आर्जनको थप प्रभावकारी माध्यम बनाउनुपर्नेमा जोड दिएका छन्।


विश्व खबर 




















