images
images
  • हरित उद्यममा वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटासबीच सहकार्य

    काठमाडौं– हरित उद्यम तथा हरित मूल्य शृंखलामा संलग्न व्यवसायको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालबीच समझदारी भएको छ ।

    समझदारीअनुसार सूक्ष्म उद्यमी, कृषक, युवाले सञ्चालन गरेका व्यवसाय तथा हरित मूल्य शृंखलामा आबद्ध अन्य साझेदारलाई वित्तीय पहुँचसँगै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ।

    सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन् ।

    सहकार्यले हेल्भेटास नेपालको उद्यम विकास, समावेशी आर्थिक विकास तथा मूल्य शृंखला सुदृढीकरणसम्बन्धी अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता र पहुँचसँग जोड्ने जनाइएको छ। दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृंखलामा आधारित व्यवसायको वित्तीयकरणलाई प्राथमिकता दिनेछन्।

    कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यममा सक्रिय व्यवसायीलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत सहयोग गरिने बताउनुभयो।

    सहकार्यअन्तर्गत उद्यमी, कृषक, वित्तीय संस्था तथा हरित मूल्य शृंखलामा संलग्न सरोकारवालाबीच सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ। वित्तीय स्रोतको प्रभावकारी परिचालन तथा व्यवस्थापनका लागि उद्यमीको क्षमता विकासमा समेत जोड दिइनेछ।

    कुमारी बैंकले आफ्ना २७९ शाखा, २९६ एटिएम, ४१ विस्तारित काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ भन्दा बढी विद्युतीय भुक्तानी उपकरणमार्फत लक्षित समुदायसम्म कार्यक्रम विस्तार गर्ने जनाएको छ।

    सहकार्यबाट हरित उद्यमको विकास, मूल्य शृंखला सुदृढीकरण, रोजगारी सिर्जना तथा जलवायु उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images