images
images
  • विद्यालयबाट घर फर्कंदा भेलले बगायो चार बालिका, दुईको मृत्यु, एक बेपत्ता

    काठमाडौं– विद्यालयबाट घर फर्कने क्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा चार बालिका वासुदेव खहरे खोलाको अचानक आएको भेलमा परेका छन्। घटनामा दुई बालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। एक बालिका भने झाडी समातेर ज्यान जोगाउन सफल भएकी छन्।

    गत मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएर घर फर्कने क्रममा चारै बालिका वासुदेव खहरे खोला तर्दै थिए। खोला उनीहरूका लागि परिचित भए पनि त्यस दिन अचानक पानीको बहाव बढेर आएको भेलले उनीहरूलाई छुट्टाछुट्टै दिशातर्फ बगाएको हो।

    घटनाबाट जोगिएकी हेटौँडा–१९ डाँडागाउँकी १३ वर्षीया सीमा भोलनका अनुसार चारै जना हात समातेर खोला पार गर्दै थिए। सुरुमा आठ वर्षीया रोशनी स्याङ्तानलाई भेलले बगाएको थियो। त्यसपछि ११ वर्षीया सुमित्रा भोलनसहित अन्य बालिका पनि भेलमा परेका थिए।

    भेलले बगाएर केही तल पुर्‍याएपछि सीमाको हातमा खोलाकिनारको झाडी परेको थियो। झाडी समातेर उनी खोलाबाट बाहिरिन सफल भएकी थिइन्। सामान्य चोट लागेपछि उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो।

    ६ सय मिटर तल रोशनी मृत फेला

    घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले बालिकाको खोजी सुरु गरेका थिए। खोजीका क्रममा बस्तीपुरका दीप स्याङ्तानकी आठ वर्षीया छोरी रोशनी घटनास्थलबाट करिब ६ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    राजकुमार भोलनकी १२ वर्षीया छोरी विनिता भने रातभर फेला परेकी थिइनन्। बुधबार बिहान पुनः खोजी गर्ने क्रममा घटनास्थलबाट करिब चार किलोमिटर तल उनलाई मृत अवस्थामा फेला पारिएको हो।

    टिकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भने अझै बेपत्ता छिन्।

    तीन सुरक्षा निकायसहित स्थानीय खोजीमा

    घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो।

    प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा २० जना प्रहरी खोजीमा खटिएका थिए। बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षक विजयराज तिमल्सेनाको नेतृत्वमा ११ जना तथा सशस्त्र प्रहरी बलको १४ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काको नेतृत्वमा १७ जनाको टोली पनि खोजीमा परिचालन गरिएको थियो।

    नेपाली सेना र स्थानीयवासीसमेत खोजीमा जुटेका छन्। रातिको समयमा अँध्यारो, पानीको तीव्र बहाव तथा खोलाले बगाएर ल्याएका ढुङ्गा र गेग्रानका कारण खोजीमा कठिनाइ भएको थियो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बेपत्ता सुमित्राको खोजी जारी रहेको जानकारी दिनुभयो। हेटौँडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीका अनुसार सुरक्षाकर्मी र स्थानीयवासीले वासुदेव खोलाको तल्लो क्षेत्रमा खोजी गरिरहेका छन्।

    वर्षायाममा मकवानपुरका खोला जोखिमपूर्ण

    चालु आर्थिक वर्ष सुरु भएयता मकवानपुरमा खोला तथा पानीमा डुबेर मृत्यु भएको यो पहिलो घटना भने होइन। आर्थिक वर्ष सुरु भएको दोस्रो दिनमै हेटौँडा–६ रोहिणी कोलोनीस्थित कर्रा खोलाछेउको पानी जमेको खाल्डोमा डुबेर करिब १४ वर्षीय युकेश राईको मृत्यु भएको थियो।

    त्यसको करिब दुई सातापछि बकैया गाउँपालिका–४ नयाँदमारस्थित चिरुवा खोल्सीमा आएको आकस्मिक भेलले दुई महिलालाई बगाएको थियो। घटनामा ४१ वर्षीया तारा भोलन र ५० वर्षीया सुनमाया वाइवा घाइते भएका थिए। उपचारका क्रममा ताराको साउन १९ गते मृत्यु भएको थियो भने सुनमाया उपचारपछि घर फर्किनुभएको थियो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षमा खोलाले बगाएर तथा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

    गत आर्थिक वर्ष २०८२र८३ मा मकवानपुरमा डुबाइ तथा बगाइका छ घटना भएका थिए। ती घटनामा चार जनाको मृत्यु, एक जना घाइते र एक जना बेपत्ता भएका थिए।

    वासुदेव खहरेमा भएको पछिल्लो घटनाले वर्षायाममा जिल्लाका खोला, खोल्सा, खहरे तथा पानी जम्ने स्थान थप जोखिमपूर्ण रहेको देखाएको छ। सामान्य अवस्थामा सुरक्षित देखिने खोला पनि वर्षाको समयमा अचानक आएको भेलका कारण ज्यानै जाने जोखिमयुक्त बन्न सक्ने भएकाले स्थानीयवासी तथा विद्यालयबाट घर फर्कने बालबालिकालाई विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images