काठमाडौं– पछिल्ला दिनको गिरावटपछि धितोपत्र बजारमा सामान्य सुधार देखिएको छ। साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।
बिहीबार बजारमा खरिदकर्ता केही बलियो देखिए पनि कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ। नेप्सेका अनुसार ३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रह्यो।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८८ अंकले बढेर ४६२.८९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ०.४२ अंकले बढेर १८०.३८ र सेन्सेटिभ फ्लोट परिसूचक ०.५५ अंकले बढेर १५६.३१ विन्दुमा पुगेको छ।
आज ९५ लाख ७६६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँ पुगेको छ।
कारोबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहको सूचक बढेको छ भने ७ वटा उपसमूह घटेका छन्। यसले समग्र बजार सूचक बढे पनि बजारभित्रको दबाब पूर्ण रूपमा हटिनसकेको देखाएको छ।
आज सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी र एनआइसी एसिया सेलेक्ट फन्डका लगानीकर्ताले बढी कमाएका छन्। त्यस्तै, कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्।
पछिल्ला केही कारोबार दिनमा नेप्सेमा देखिएको उतारचढावपछि आजको सामान्य वृद्धिले बजारमा केही राहत दिएको छ। यद्यपि घट्ने कम्पनीको संख्या बढि रहेकाले लगानीकर्ताको मनोबल अझै पूर्ण रूपमा बलियो भइसकेको देखिँदैन।


विश्व खबर 




















