images
images
  • चामलको बिक्री बढ्दा शिव पार्वती एग्रोको कारोबार २८ प्रतिशत उक्लियो, नाफा भने ३ प्रतिशतभन्दा कम

    काठमाडौं– चामलको बिक्री बढेपछि शिव पार्वती एग्रोको कारोबार एकै वर्षमा २८ प्रतिशतले उकालो लागेको छ। तर कारोबार तीव्र रूपमा बढ्दा पनि कम्पनीको खुद नाफा भने ३ प्रतिशतभन्दा कम रहेको छ।

    धान प्रशोधन गरी चामल उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीले सन् २०२६ मा १ अर्ब ८३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष अर्थात् सन् २०२५ मा कम्पनीको कारोबार १ अर्ब ४४ करोड रुपैयाँ थियो।

    कम्पनीको कारोबार सन् २०२४ मा १ अर्ब ७१ करोड ६० लाख र सन् २०२३ मा १ अर्ब २१ करोड ९० लाख रुपैयाँ थियो। यसले पछिल्लो वर्ष चामल बिक्रीमा आएको वृद्धिले कम्पनीको कारोबारलाई उल्लेख्य रूपमा माथि तानेको देखाउँछ।

    बिक्री बढ्यो, तर सञ्चालन मार्जिन घट्यो

    कम्पनीका अनुसार गत वर्ष उच्च परिमाणमा चामल बिक्री भएपछि कारोबार बढेको हो। तर कारोबार बढेसँगै सञ्चालन मार्जिन भने घटेको छ।

    सन् २०२५ मा १०.६८ प्रतिशत रहेको कम्पनीको सञ्चालन मार्जिन सन् २०२६ मा ८.६६ प्रतिशतमा झरेको छ।

    यसका बाबजुद कम्पनीले खुद नाफामा भने सामान्य सुधार गरेको छ। गत वर्ष कम्पनीको खुद नाफा २।६७ प्रतिशत रहेको छ भने अघिल्लो वर्ष २.६० प्रतिशत थियो।

    नगद सञ्चिति पनि बढ्यो

    कम्पनीको वित्तीय अवस्थामा नगद सञ्चितितर्फ भने सुधार देखिएको छ। सन् २०२५ मा ६ करोड ८० लाख रुपैयाँ रहेको कुल नगद सञ्चिति गत वर्ष बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ।

    ऋणभार भने कम्पनीका लागि अझै ठूलो चुनौतीका रूपमा देखिएको छ। कम्पनीको समग्र गियरिङ ३.१५ गुणा रहेको छ। अघिल्लो वर्ष यो ३।२३ गुणा थियो।

    यद्यपि ऋण तिर्ने क्षमतासँग सम्बन्धित सूचकमा सुधार भएको छ। कम्पनीको ब्याज कभरेज अनुपात १.९८ गुणाबाट बढेर २।२९ गुणा पुगेको छ। त्यस्तै, ऋण सेवा कभरेज अनुपात १.४६ गुणाबाट बढेर १.८६ गुणा पुगेको छ।

    कुल बाह्य दायित्व तथा मूर्त खुद सम्पत्तिको अनुपात पनि ३.३१ गुणाबाट घटेर ३.२१ गुणामा आएको छ।

    ११ मेट्रिक टन प्रतिघण्टा चामल उत्पादन

    सन् २०१९ मा स्थापना भएको शिव पार्वती एग्रोले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ। कम्पनीले प्रतिघण्टा ११ मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गरिरहेको छ।

    मनोजकुमार गुप्ताको पूर्ण स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४३ करोड ८० लाख रुपैयाँको ऋण मूल्याङ्कन गराएको छ।

    कम्पनीले ४८ करोड ८० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘बीबी’ र ९५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ पाएको छ।

    चामलको बिक्री बढेर कारोबारले नयाँ उचाइ लिए पनि घट्दो सञ्चालन मार्जिन र उच्च ऋणभारले कम्पनीको आगामी वित्तीय प्रदर्शनका लागि चुनौती कायम रहेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images