काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले बागमती प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर, अभिकर्ता तथा इमर्जिङ सन क्लबमा आबद्ध अभिकर्तालाई सम्मान गरेको छ।
भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न शाखाका अभिकर्ता, शाखा प्रमुख तथा कर्मचारीलाई सम्मान गरिएको हो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल मुख्य अतिथि तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। बागमती प्रदेश प्रमुख लोकमाया अधिकारीसहित क्षेत्रीय प्रबन्धक सनत सत्याल, मुरारीप्रसाद तिवारी र आलोक खड्काको पनि सहभागिता थियो।
क्षेत्रीय प्रबन्धक आलोक खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी डेभलपमेन्ट सेल्स म्यानेजर, क्लब सदस्य तथा मिलियन डलर राउन्ड टेबल हासिल गर्न सफल अभिकर्तालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताले कम्पनीको व्यावसायिक विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले अभिकर्ताको सेवा–सुविधा र क्षमता अभिवृद्धिका लागि आगामी दिनमा थप प्रोत्साहनमूलक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले कम्पनीले हासिल गरेको व्यावसायिक उचाइ र पहिचानको प्रमुख श्रेय मेहनती अभिकर्तालाई जाने बताउनुभयो।
बागमती प्रदेश व्यवसायका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै उहाँले अभिकर्तालाई अझ सक्षम, दक्ष र व्यावसायिक बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको बताउनुभयो।
सम्मानित अभिकर्ताले यस्ता कार्यक्रमले आफूहरूलाई थप उत्साहित बनाउनुका साथै कार्यसम्पादनमा थप सुधार ल्याउन प्रेरणा मिलेको बताएका छन्।
हाल सन नेपाल लाइफले देशभर १५० भन्दा बढी शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ। कम्पनीले आगामी दिनमा बिमा सेवाको पहुँच थप विस्तार गर्ने जनाएको छ।


विश्व खबर 




















