images
images
  • नेपाल आउने विदेशी पर्यटकले अब मास्टरकार्डबाटै क्यूआर भुक्तानी गर्न सक्ने

    काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि डिजिटल भुक्तानी सहज र सुरक्षित बनाउन मास्टरकार्डले नेपालमा ‘पे लोकल’ सेवा सुरु गरेको छ।

    मास्टरकार्डले नेपालको डिजिटल वालेट तथा एकीकृत क्यूआर भुक्तानी मञ्च ‘मोको’सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो।

    सेवाअन्तर्गत विदेशी पर्यटकले आफ्नो मास्टरकार्ड ‘मोको ट्राभल’ अनुप्रयोगमा आबद्ध गरी नेपालभर रहेका नेपालपे तथा फोनपे क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्। उक्त अनुप्रयोग एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ।

    मास्टरकार्डका अनुसार यस सेवाबाट पर्यटकले नगद बोक्नुपर्ने, मुद्रा सटही गर्नुपर्ने वा अग्रिम भुक्तानी खातामा रकम जम्मा गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। होटल, रेस्टुरेन्ट, खुद्रा पसल, स्थानीय बजारलगायत पर्यटकीय व्यवसायमा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ।

    यसबाट स्थानीय व्यवसायीले आफ्नो विद्यमान क्यूआर पूर्वाधारमार्फत अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिन सक्नेछन्। नेपालमा बढ्दो पर्यटनसँगै स्थानीय व्यवसायले विदेशी पर्यटकबाट हुने डिजिटल कारोबार विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।

    मास्टरकार्डका नेपालसहित श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटान हेर्ने देशीय प्रमुख सन्दुन हापुगोडाले अन्तर्राष्ट्रिय पर्यटकले यात्राका क्रममा सहज, सुरक्षित र सुविधाजनक भुक्तानीको अपेक्षा गर्ने बताउनुभयो।

    उहाँका अनुसार ‘मोको’मा उपलब्ध मास्टरकार्डको ‘पे लोकल’ सेवाले पर्यटकलाई आफूसँग रहेको कार्ड नेपालको व्यापक क्यूआर भुक्तानी प्रणालीमा प्रयोग गर्ने सुविधा दिनेछ।

    फोकसवान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले विदेशी पर्यटकको भुक्तानी अनुभव सुधार गर्न मास्टरकार्डसँग सहकार्य गरिएको बताउनुभयो। उहाँले ट्राभल अनुप्रयोगमार्फत विदेशी पर्यटकलाई नेपालको क्यूआर भुक्तानी प्रणालीमा सहज पहुँच पुग्ने र यसबाट स्थानीय व्यवसायीसमेत लाभान्वित हुने बताउनुभयो।

    मास्टरकार्डले यसअघि चीन, इन्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंकालगायत एसियाली मुलुकमा ‘पे लोकल’ सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images