images
images
  • गौमुलमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा

    काठमाडौं– गौमुल गाउँपालिका–२ मालिवनमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। नवनिर्मित अस्पताल भवनको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गर्नुभएको हो।

    अस्पताल भवन निर्माणका लागि २०७७ चैतमा १३ करोड ८४ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले २०८१ माघमा भवन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो।

    भवन निर्माण सम्पन्न भए पनि विद्युत्, औषधि, उपकरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा अस्पताल सञ्चालनमा आउन सकेको थिएन। अहिले आवश्यक औषधि, उपकरण तथा जनशक्तिको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

    अस्पतालमा दुई जना चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। तत्काल चिकित्सकको व्यवस्था गरी नियमित रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो।

    गाउँपालिका उपाध्यक्ष सीता थापाका अनुसार अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम मार्तडी तथा धनगढीलगायतका स्थानमा जानुपर्ने स्थानीयको बाध्यता घट्नेछ।

    भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकले उपचारका लागि बाहिर जाँदा समय र ठूलो रकम खर्च गर्नुपर्ने अवस्था रहेकाले स्थानीय तहमै अस्पताल सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो।

    स्थानीयले आधारभूत अस्पतालबाट थप स्वास्थ्य सेवा, विशेषज्ञ चिकित्सक र आवश्यक उपकरणको सुविधा पाउने अपेक्षा गरेका छन्। अस्पताल सञ्चालनसँगै सामान्य जाँच तथा उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

    बाजुराका नौ स्थानीय तहमध्ये १० शय्याको अस्पताल सञ्चालनमा ल्याउने गौमुल दोस्रो गाउँपालिका बनेको छ। यसअघि जगन्नाथ गाउँपालिकाले २०८० चैतमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images