काठमाडौं– तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको ७० करोड रुपैयाँ कमिसन मोलमोलाइको चर्चित अडियो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः सूक्ष्म अनुसन्धान अघि बढाएको छ।
राहदानी तथा नागरिकता स्टिकर छाप्ने मेसिनसहित सुरक्षण मुद्रण प्रेसका उपकरण खरिद प्रक्रियामा ठूलो रकम कमिसन मागिएको आरोपसँग जोडिएको उक्त प्रकरणमा आयोगले फेरि अनुसन्धान गरिरहेको जनाएको हो।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका निमित्त सचिव पद्मा मैनालीले उक्त प्रकरणमा परेको उजुरीमाथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
करिब आठ वर्षअघि तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले सुरक्षण मुद्रण प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका नेपाली प्रतिनिधिसँग ७० करोड रुपैयाँ कमिसनका लागि मोलमोलाइ गरेको भनिएको अडियो सार्वजनिक भएको थियो।
अडियो सार्वजनिक भएपछि राजनीतिक क्षेत्रमा ठूलो विवाद उत्पन्न भएको थियो। त्यसपछि बाँस्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
उक्त प्रकरणमा अख्तियारमा उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। तर, केही समयपछि अनुसन्धान रोकिएको थियो। अहिले आयोगले सोही विषयमा पुनः विस्तृत अनुसन्धान अघि बढाएको हो।
समितिको बैठकमा आयोगले सुरक्षण मुद्रण प्रेस खरिदसँग सम्बन्धित उजुरी अहिले सूक्ष्म अनुसन्धानको चरणमा रहेको जानकारी दिएको छ।
उक्त अडियो सार्वजनिक गर्ने व्यक्ति विजयप्रकाश मिश्रले तत्कालीन मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको दाबी गर्नुभएको थियो। सो अडियोमा भएको भनिएको कुराकानीकै आधारमा प्रकरणले त्यसबेला राष्ट्रिय राजनीतिमा ठूलो चर्चा पाएको थियो।
अब अख्तियारले पुनः अनुसन्धान अघि बढाएसँगै लामो समयदेखि चर्चामा रहेको ७० करोड कमिसन प्रकरण फेरि सार्वजनिक बहसमा आएको छ। आयोगको अनुसन्धानले अडियोको सत्यता, खरिद प्रक्रिया र त्यसमा संलग्न व्यक्तिको भूमिकाबारे थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।


विश्व खबर 




















