images
images
  • कोरला नाकाबाट एक महिनामै भित्रिए एक सय विद्युतीय सवारी

    काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा मुस्ताङको कोरला नाकाबाट एक सय वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।

    मुस्ताङ भन्सार कार्यालयका अनुसार साउन महिनामा कोरला नाकाबाट आयात भएका विद्युतीय सवारीसाधनसहित अन्य सामग्रीबाट राज्यकोषमा २९ करोड रुपैयाँ राजस्व दाखिला भएको छ।

    भन्सार कार्यालयका अनुसार कोरला नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै भन्सार गतिविधिसमेत तीव्र बनेको छ। अहिले उक्त नाकाबाट दैनिक औसत १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको छ।

    कोरला नाका पछिल्लो समय विद्युतीय सवारीसाधन आयातका लागि नयाँ मार्गका रूपमा विकसित हुँदै गएको छ। चीनसँगको उत्तरी सीमामा रहेको यो नाका हुँदै विद्युतीय सवारीसाधनसँगै विभिन्न प्रकारका सामग्रीसमेत नेपाल भित्रिने गरेका छन्।

    गत आर्थिक वर्षमा मात्रै कोरला नाकाबाट तीन हजार वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। सो अवधिमा मुस्ताङ भन्सार कार्यालयले कुल ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

    विद्युतीय सवारीसाधनको आयातमा वृद्धि भइरहेकाले कोरला नाकाको व्यापारिक गतिविधि आगामी दिनमा थप विस्तार हुने अपेक्षा गरिएको छ। नाका हुँदै हुने आयात बढेसँगै भन्सार राजस्वमा समेत यसको योगदान बढ्दै जाने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images