काठमाडौं– अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४०० खर्ब डलर नाघेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबारसम्म संघीय सरकारको कुल सार्वजनिक ऋण ४०० खर्ब ४७ अर्ब डलर पुगेको हो।
ट्रेजरी विभागको दैनिक नगद तथा ऋण विवरणअनुसार कुल ऋणमध्ये ३२२ खर्ब ६६ अर्ब डलर सर्वसाधारण तथा लगानीकर्ताको स्वामित्वमा रहेको सरकारी ऋणपत्र हो। बाँकी ७७ खर्ब ८२ अर्ब डलर सरकारी निकायबीचको ऋण रहेको छ।
अमेरिकी सरकारी ऋण एक दशकभन्दा कम अवधिमा दोब्बरभन्दा बढी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सन् २०१७ जनवरीमा डोनाल्ड ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा अमेरिकाको कुल ऋण १९९ खर्ब ५ अर्ब डलर थियो।
त्यसयता बढेको ऋणमध्ये करिब एकतिहाइ हिस्सा कोभिड–१९ महामारीका क्रममा सरकारले ठूलो परिमाणमा ऋण लिएर गरेको खर्चसँग सम्बन्धित छ। बाँकी वृद्धि ट्रम्प र जो बाइडेन प्रशासनका आर्थिक नीतिसँगै लामो समयदेखि कायम कर आम्दानी र सरकारी खर्चबीचको असन्तुलनका कारण भएको बताइएको छ।
अमेरिकी बजेटको निगरानी गर्ने संस्थाहरूले ४०० खर्ब डलरको ऋण सीमा पार हुने अनुमान यसअघि नै गरेका थिए। उनीहरूले संसद्ले सरकारी खर्च घटाउने, कर बढाउने वा दुवै उपाय नअपनाए अमेरिकाले गम्भीर वित्तीय चुनौती सामना गर्न सक्ने चेतावनी दिएका छन्।
द्विदलीय तथा गैरनाफामुखी कमिटी फर अ रेस्पोन्सिबल फेडेरल बजेटकी अध्यक्ष माया म्याकगिनिसले ४०० खर्ब डलरको ऋण सरकारको खातामा मात्र सीमित नरहने बताएकी छन्। उनका अनुसार यसको प्रभाव समग्र अर्थतन्त्रमा पर्ने र अन्ततः नागरिकले समेत त्यसको भार बेहोर्नुपर्ने अवस्था आउन सक्छ।
बढ्दो ऋणका कारण मुद्रास्फीति बढ्न सक्ने, सरकारी बजेटका अन्य प्राथमिकताका लागि उपलब्ध स्रोत घट्न सक्ने तथा घरेलु संकट र बाह्य अस्थिरताका बेला अमेरिकाको जोखिम बढ्न सक्ने उनको भनाइ छ।
म्याकगिनिसका अनुसार अमेरिकी सरकारी ऋण ३९० खर्ब डलर पुगेको पाँच महिनाभन्दा कम समयमै ४०० खर्ब डलरको नयाँ सीमा पार भएको हो।
अमेरिकाको सरकारी ऋण २० वर्षभन्दा कम अवधिमा चार गुणा भएको छ। सन् १९८१ मा पहिलोपटक अमेरिकी सरकारी ऋण १० खर्ब डलर पुगेको थियो।
विदेशी लगानीकर्ताको अमेरिकी ऋणप्रतिको आकर्षणमा समेत केही कमजोरी देखिन थालेको छ। अमेरिकी ट्रेजरी ऋणपत्रको करिब एकतिहाइ हिस्सा विदेशी लगानीकर्तासँग रहे पनि पछिल्लो एक वर्षमा उनीहरूको माग घटेको रोयटर्सले जनाएको छ।
यसबीच अमेरिकी बजेट घाटा पनि तीव्र गतिमा बढिरहेको छ। ट्रेजरी विभागका अनुसार जुलाईमा मात्रै अमेरिकी बजेट घाटा ४३२ अर्ब डलर पुगेको थियो। यो अमेरिकी इतिहासकै चौथो ठूलो मासिक बजेट घाटा हो।
भन्सारबाट प्राप्त हुने राजस्वभन्दा फिर्ता गरिएको शुल्कको रकम बढी भएपछि लगातार तेस्रो महिना भन्सार आम्दानी ऋणात्मक भएको थियो। सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकका लागि मेडिकेयरमा बढिरहेको खर्चले पनि सरकारमाथि वित्तीय दबाब थपेको छ।
सन् २०२६ को वित्तीय वर्षका पहिलो १० महिनामै अमेरिकी बजेट घाटा अघिल्लो वर्षको पूरै वित्तीय वर्षको घाटाभन्दा बढी भइसकेको छ। चालु वित्तीय वर्ष सकिन अझै दुई महिना बाँकी छ।
ट्रम्पको पहिलो कार्यकालमा अमेरिकी सार्वजनिक ऋण ७८ खर्ब डलर बढेको थियो। त्यसमध्ये आधाभन्दा बढी वृद्धि कार्यकालको अन्तिम नौ महिनामा महामारी नियन्त्रण तथा आर्थिक राहतका लागि गरिएको खर्चका क्रममा भएको थियो।
ट्रम्पले जनवरी २०२५ मा दोस्रोपटक राष्ट्रपतिको कार्यभार सम्हालेयता मात्रै अमेरिकी सरकारी ऋणमा थप ३८ खर्ब डलर वृद्धि भएको छ। दुवै कार्यकाल जोड्दा ट्रम्प राष्ट्रपति रहँदा अमेरिकी ऋण ११६ खर्ब डलर बढेको रोयटर्सले जनाएको छ।
त्यस्तै, जो बाइडेनको चारवर्षे कार्यकालमा अमेरिकी सार्वजनिक ऋण ८४ खर्ब डलर बढेको थियो। महामारीपछिको आर्थिक पुनरुत्थान, पूर्वाधार निर्माण र स्वच्छ ऊर्जाका लागि दिइएको अनुदानलगायत ठूला सरकारी कार्यक्रमले पनि ऋण वृद्धि गर्न भूमिका खेलेका थिए।
ट्रम्पको दोस्रो कार्यकालको प्रमुख कार्यक्रम ‘वन बिग ब्युटिफुल बिल एक्ट’ ले मात्रै अमेरिकी सरकारी ऋणमा ४७ खर्ब डलर थपिने अनुमान कांग्रेसको गैरदलीय बजेट कार्यालयले गरेको छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकाललाई सरकारी खर्च कटौतीमा केन्द्रित गर्ने बताउँदै आएका छन्। उनले सरकारी निकायमा ठूलो संख्यामा कर्मचारी कटौतीको पहलसमेत गरेका छन्। तर खर्च कटौतीको ठूलो हिस्सा संघीय बजेटका तुलनात्मक रूपमा साना ‘डिस्क्रिसनरी’ कार्यक्रमतर्फ केन्द्रित भएको रोयटर्सले जनाएको छ।
अमेरिकी सरकारले वार्षिक करिब ७० खर्ब डलर खर्च गर्छ। यसको करिब ६० प्रतिशत सामाजिक सुरक्षा, मेडिकेयर, मेडिकेड तथा पूर्वसैनिकको स्वास्थ्य र सेवा सुविधाजस्ता अनिवार्य कार्यक्रममा खर्च हुन्छ।
यसका अतिरिक्त ऋणको ब्याज तिर्न मात्रै अमेरिकी सरकारले वार्षिक करिब ११ खर्ब डलर खर्च गरिरहेको छ। ऋणको आकार र ब्याजदर दुवै बढ्दै जाँदा ऋण सेवाको लागत पनि निरन्तर बढिरहेको छ।
सन् २०२५ को वित्तीय वर्षमा पहिलोपटक अमेरिकी सरकारी ऋणको ब्याज तिर्ने खर्च रक्षा मन्त्रालयको बजेटभन्दा बढी भएको थियो। सन् २०२६ को वित्तीय वर्षका पहिलो १० महिनामा ब्याज खर्च मेडिकेयरको स्वास्थ्यसम्बन्धी खर्चभन्दा समेत बढी पुगेको छ।
सामाजिक सुरक्षा कार्यक्रमपछि ऋणको ब्याज अहिले संघीय बजेटको दोस्रो ठूलो खर्च शीर्षक बनेको छ। ‘बेबी बुम’ पुस्ता अवकाश तथा स्वास्थ्य सेवाको उमेरमा प्रवेश गर्दै जाँदा सामाजिक सुरक्षा र मेडिकेयरको खर्च थप बढिरहेको छ।
तर यी कार्यक्रमका लागि आवश्यक पेरोल तथा आयकरबाट प्राप्त हुने राजस्वले संघीय सरकारको समग्र खर्च धान्न नसक्दा अमेरिकामाथि वित्तीय दबाब बढ्दै गएको छ।
४०० खर्ब डलरको ऋण सीमा पार हुनु तत्कालै अमेरिकी अर्थतन्त्रमा संकट आएको संकेत भने होइन। तर लगातार बढिरहेको सरकारी ऋण, उच्च ब्याज खर्च, सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवामा बढ्दो दायित्व र कमजोर राजस्वका कारण अमेरिकाको दीर्घकालीन वित्तीय दबाब भने गम्भीर बन्दै गएको देखिन्छ।


विश्व खबर 




















